

काठमाडौं- हात सबैभन्दा बढी सक्रिय र बाहिरी असरमा पर्ने अंग भएकाले यसमा चोट लाग्ने सम्भावना पनि धेरै हुन्छ। घरायसी काम गर्दा, बालबालिका खेल्ने क्रममा वा दुर्घटनामा सबैभन्दा बढी चोट हातमै लाग्ने सम्भावना रहने चिकित्सकहरूको भनाइ छ।
गम्भीर चोटमा तुरुन्त उपचार
बीएण्डबी अस्पतालका अर्थोपेडिक्स ह्याण्ड सर्जन डा. सन्तोष बाटाजुका अनुसार, चोटपटक विभिन्न कारणले लाग्ने भएकाले कतिपय अवस्थामा तुरुन्तै उपचार आवश्यक हुन्छ। ‘जस्तो औंला कटिएको, रगतको नशा तथा नली काटिएर रगत बगिरहेको अवस्था आयो भने तुरुन्तै उपचार गर्नुपर्छ। तर हड्डी भाँच्चिएको छ र घाउ ठूलो छैन भने केहीबेर कुर्दा फरक पर्दैन,’ उनले बताए।

यदि औंला वा हात नचल्ने अवस्था आएमा त्यसको कारण पत्ता लगाएर उपचार गरिने उनको भनाइ छ। ‘बिरामीको हिस्ट्री हेरेर र परीक्षण गरेर हामी उपचार गछौं,’ उनले भने। शल्यक्रिया र फिजियोथेरापी अलग–अलग प्रक्रिया भए पनि अवस्थाअनुसार चिकित्सकहरूले मिलाएर निवारण गर्छन्। कतिपय केसमा शल्यक्रिया गरेपछि फिजियोथेरापी अनिवार्य हुन्छ।
बालबालिकामा हातका विभिन्न समस्या देखिन सक्छन्। जस्तै– छोटो औंला, बाङ्गिएको औंला, जोडिएको औंला, हात तथा औंला नचल्ने समस्या। यीमध्ये केही जन्मजात रूपमा हुने गर्छन् भने केही जन्मिसकेपछि देखा पर्छन्। डा. बाटाजुका अनुसार, यस्तो अवस्थामा परीक्षण गरेर यथासक्य छिटो शल्यक्रिया गर्नुपर्छ।
६ घण्टा भित्र शल्यक्रिया नगरे जटिल अवस्था आउन सक्छ
बीएण्डबी अस्पतालकै अर्का अर्थोपेडिक्स ह्याण्ड सर्जन डा. निरेश श्रेष्ठका अनुसार, हातको नशा काटिएको अवस्थामा ६ घण्टाभित्र शल्यक्रिया गर्नुपर्छ। त्यसपछि आएका बिरामीको नशा जोड्न कठिन हुने उनले बताए ।
उनी भन्छन्, ‘काटिएको भए जोड्न सकिन्छ, तर हात थिचिएको अवस्थामा नतिजा त्यति सकारात्मक आउँदैन।’ हातमा दीर्घकालीन समस्या भएमा निरन्तर उपचार र फिजियोथेरापी आवश्यक हुन्छ।

ग्रामीण क्षेत्रमा धेरैजसो बिरामी आगोले पोलेको समस्या लिएर आउने गरेको बताउँदै उनले भने, ‘विकट क्षेत्र भएकाले उनीहरूलाई उपचार पाउन ढिलो हुन्छ।’ बालबालिकालाई आगोबाट टाढा राख्नुपर्ने उनको सुझाव छ।
सहरी क्षेत्रमा भने मोटरसाइकलको चेन इन्जुरी वा कुनै मेसिनमा चेपिएर हातमा चोटपटक लाग्ने समस्या बढी देखिएको छ। ‘त्यसबाट बच्न सबैले सर्तकता अपनाउनुपर्छ,’ डा. श्रेष्ठले भने, ‘मोटरसाइकलको चेन आफैंले सफा नगरी मर्मतकर्ताको सहायता लिनुपर्छ।’
चोट गम्भीर देखिए वा औंला–हात नचल्ने अवस्था देखिएमा ढिलो नगरी तुरुन्त विशेषज्ञको सल्लाह लिन चिकित्सकहरूले सुझाव दिएका छन्।


