नुवाकोट — नुवाकोटको पूर्वी भेग थप्रेकमा सर्वसाधारण गाउँवासीको स्वास्थ्य उपचारका लागि आधुनिक स्वास्थ्य चौकी भवन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। पञ्चकन्या गाउँपालिका–४ स्थित नयाँ स्वास्थ्य चौकी भवनको बुधवार उद्घाटन गरिएको हो।
भवनको उद्घाटन गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङ (रमेश) ले गर्नुभयो। उनले भवन निर्माणसँगै अब स्थानीयस्तरमै गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास व्यक्त गर्दै गाउँवासीलाई प्रभावकारी रूपमा सेवा लिन आग्रह गरे।

भूकम्प पुनर्निर्माण प्राधिकरणमार्फत निर्माण गरिएको दुईतले, नौ कोठे भवन करिब तीन वर्षमा सम्पन्न भएको हो। कुल लागत एक करोड २० लाख रुपैयाँ रहेको उक्त भवनबाट थप्रेक र वालकुमारी क्षेत्रका करिब पाँच हजार जनसंख्याले सेवा पाउने छन्। स्वास्थ्य चौकीमा जनस्वास्थ्य निरीक्षकसहित पाँच जनाको दरबन्दी छ।

भवन उद्घाटन कार्यक्रममा गाउँपालिका उपाध्यक्ष विमला पाठक केसी, वडा अध्यक्ष सञ्च तामाङ, निमित्त प्रमुख प्रशासकीय अधिकृत हेमनारायण महतो र रुडेक नेपालका अध्यक्ष मीनकुमार केसीलगायतले गाउँमै उपचार सेवा उपलब्ध भएपछि अब सर्वसाधारणलाई उपचारका लागि टाढा जानुपर्ने बाध्यता अन्त्य भएको बताए।
कार्यक्रममा गाउँपालिकाका वडाध्यक्षहरू, कार्यपालिका सदस्यहरू, जनप्रतिनिधिहरू, सबै शाखाका प्रमुखहरू, स्वास्थ्यकर्मी, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू तथा स्थानीयवासीको उल्लेखनीय सहभागिता रहेको थियो।
स्थानीय निम्न आयस्तरका परिवारहरूका लागि यो स्वास्थ्य सेवा अत्यन्तै उपयोगी हुने बताइएको छ।







