काठमाडाैं- भारतमा कोरोना भाइरस संक्रमण पुनः सक्रिय बन्दै गएको छ। पछिल्लो विवरणअनुसार, देशभर १,०८१ जना सक्रिय संक्रमित रहेका छन् भने १२ जनाले ज्यान गुमाइसकेका छन्।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार मंगलबार कर्नाटकमा ३६, गुजरातमा १७, बिहारमा ६ र हरियाणामा ३ नयाँ संक्रमित फेला परे। सबैभन्दा धेरै सक्रिय संक्रमित केरल राज्यमा छन्, जहाँ ४३० जना संक्रमित रहेका छन्।

उत्तर प्रदेशको फिरोजाबादमा ७८ वर्षीय वृद्धको उपचारको क्रममा मृत्यु भएको छ, जुन राज्यमा नयाँ भेरियन्टबाट भएको पहिलो मृत्यु हो। यसबाहेक महाराष्ट्र, राजस्थान, पश्चिम बंगाल, कर्नाटक र मध्य प्रदेशमा थप ११ जनाको मृत्यु भइसकेको छ।
पछिल्ला दिनहरूमा भारतका विभिन्न राज्यमा कोरोना भाइरसका चार नयाँ भेरियन्ट देखिएका छन्: जेएन.१, एलएफ.७, एक्सएफजी र एनबी.१.८.१। यीमध्ये जेएन.१ सबैभन्दा बढी फैलिएको भेरियन्ट हो, जुन ओमिक्रोनको बीए.२.८६ स्ट्रेनको उपप्रकार हो। यो भेरियन्ट अगस्त २०२३ मा पहिलोपटक फेला परेको थियो।

विश्व स्वास्थ्य संगठनले यसलाई ‘चासोको भेरियन्ट’ मानेको भए पनि हाललाई ‘गम्भीर नभएको तर निगरानी योग्य’ श्रेणीमा राखिएको छ।
भारतीय चिकित्सा अनुसन्धान परिषद्का निर्देशक डा. राजीव बहलले नयाँ भेरियन्टहरूको प्रसार तीव्र हुन सक्ने सम्भावना औंल्याउँदै सावधानी अपनाउन सुझाव दिएका छन्। उनका अनुसार यी भेरियन्टहरू विशेष गरी दक्षिण र पश्चिम भारतमा व्यापक छन्।
एनबी.१.८.१ जस्ता भेरियन्टहरूले अघिल्लो संक्रमण वा खोपबाट बनेको प्रतिरक्षा प्रणालीलाई छल्न सक्ने सम्भावना राख्दछन्। त्यसैले लक्षण देखिएपछि तुरुन्त परीक्षण र उपचार आवश्यक रहेको चिकित्सकहरूको भनाइ छ।
विशेषज्ञहरूका अनुसार जेएन.१ संक्रमणमा ‘लङ्ग कोभिड’ देखिने सम्भावना पनि रहन्छ, जसमा संक्रमित व्यक्ति निको भइसके पनि लक्षणहरू लामो समयसम्म रहन सक्छन्।







