वासिङ्टन, डीसी – अमेरिकी वैज्ञानिकहरूले मलेरिया (औलो) फैलाउने लामखुट्टेहरूमा रहेका परजीवीहरूलाई लक्षित गरेर ती परजीवीहरू नष्ट गर्ने दुई नयाँ औषधिको खोज गरेका छन्। यसले गर्दा ती लामखुट्टेहरू जीवित रहँदा पनि मलेरिया सार्न सक्दैनन्।
संसारभरि मलेरियाका कारण हरेक वर्ष झन्डै ६ लाख मानिसको मृत्यु हुने गरेको छ। संक्रमित पोथी लामखुट्टेले मानिसलाई टोक्दा रगतमार्फत प्लाज्मोडिअम नामक परजीवी सर्ने गर्दछ। अहिले प्रयोगमा रहेका कीटनाशकहरूको असर घट्दै गइरहेकाले वैज्ञानिकहरू वैकल्पिक उपायको खोजीमा जुटेका थिए।
हार्वर्ड विश्वविद्यालयसँग आबद्ध वैज्ञानिकहरूले लामखुट्टेमा हुने परजीवीको डीएनए विश्लेषण गरी २२ सम्भावित औषधिहरू परीक्षण गरेका थिए। तीमध्ये दुई औषधिले उत्कृष्ट परिणाम देखाएका छन्। यी औषधि लामखुट्टेका खुट्टाबाट शरीरभित्र प्रवेश गरेर परजीवीलाई मार्ने क्षमतायुक्त छन्।
उनीहरूले औषधिको घोल झुल (मच्छरदानी) मा प्रयोग गरेर लामखुट्टे सम्पर्कमा आउँदा परजीवी मर्नसक्ने योजना बनाएका छन्। यसरी संक्रमित लामखुट्टे जीवित रहे पनि मानिसमा रोग सर्न सक्दैन।

“हामी पहिलेसम्म लामखुट्टे मार्ने उपायमा सीमित थियौं। अब हामी तिनमा हुने परजीवीलाई निसाना बनाउँदैछौं,” अनुसन्धानकर्तामध्येकी डा. अलेक्सान्ड्रा प्रोब्स्टले भनिन्। उनका अनुसार परजीवीको संख्या लामखुट्टेमा अत्यन्त कम हुने भएकाले औषधि प्रतिरोधी बन्ने सम्भावना पनि न्यून हुन्छ।
यी औषधि कीटनाशकभन्दा सस्ता र वर्षदिनसम्म झुलमा सक्रिय रहने बताइएको छ। इथिओपियामा यसको वास्तविक परीक्षण गर्ने योजना बनिसकेको छ र यो अध्ययन पूरा हुन करिब ६ वर्ष लाग्ने अनुमान गरिएको छ।








