कैलाली- कैलालीको जानकी गाउँपालिकाले सिकलसेल एनिमिया पीडितहरू र उनीहरूको परिवारका लागि निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने भएको छ। गाउँपालिकाले एक सार्वजनिक सूचना जारी गर्दै बिरामीहरूको परिवारलाई आवश्यक कागजातसहित जेठ १८ गतेभित्र निवेदन पेश गर्न आग्रह गरेको छ।

निवेदन दिने व्यक्ति गाउँपालिकाका स्थायी बासिन्दा हुनुपर्नेछ भने निवेदनमा रोग प्रमाणित प्रयोगशाला रिपोर्ट, चिकित्सकको सिफारिस, वडा कार्यालयको सिफारिस र नागरिकता वा राष्ट्रिय परिचयपत्र जस्ता कागजात संलग्न गर्नुपर्नेछ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीका अनुसार एक जना सिकलसेल बिरामीको स्वास्थ्य बीमाले चार जना परिवार सदस्यलाई एक वर्षमा एक लाख रुपैयाँसम्मको उपचार सुविधा दिनेछ। बीमाको खर्च गाउँपालिकाले व्यहोर्नेछ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीका अनुसार हालसम्म २६ जना बिरामी पहिचान भएका छन् र संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ। सिकलसेल रोग विशेषगरी थारु समुदायमा देखिने गरेको छ।







