दाङ- दाङको तुलसीपुर कारागारमा दुईदिने नसर्ने रोगसम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। लुम्बिनी प्रदेश सरकारको स्वास्थ्य निर्देशनालय र जिल्ला स्वास्थ्य कार्यालय दाङको आयोजनामा सम्पन्न शिविरमा झण्डै ५ सय कैदीबन्दीले सेवा लिए।
स्वास्थ्य कार्यालय दाङका प्रमुख किशोर कुमार आचार्यका अनुसार, शिविरमा मधुमेह, उच्च रक्तचाप, मिर्गौला, एचआईभी लगायतका विषयमा परीक्षण, परामर्श तथा सचेतना कार्यक्रम सञ्चालन गरिएको थियो।
स्वास्थ्य निर्देशक रोशनलाल चौधरीले स्वास्थ्य सबैको मौलिक अधिकार भएकाले कैदीबन्दीहरूलाई लक्षित गरी शिविर सञ्चालन गरिएको बताए।

स्वास्थ्य परीक्षणमा सहभागी ४७९ जना मध्ये १७४ जनामा उच्च रक्तचाप, १२९ जनामा मधुमेहको आशंका, र ६१ जनामा पिसावसम्बन्धी समस्या देखिएको कारागार स्वास्थ्य प्रमुख दोर्णबहादुर वलीले जानकारी दिए।
उनका अनुसार शंकास्पद बिरामीहरूको थप परीक्षण अस्पतालमा गरिनेछ।








