काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सबै नागरिकमा स्वास्थ्य सेवाको पहुँच सुनिश्चित गर्न स्रोत, प्राथमिकता र अन्तर्राष्ट्रिय सहकार्यलाई मजबुत बनाउनुपर्नेमा जोड दिएका छन्। स्वीट्जरल्यान्डको जेनेभामा जारी ७८औं विश्व स्वास्थ्य सम्मेलनमा सोमबार सम्बोधन गर्दै उनले अहिलेका जटिल स्वास्थ्य चुनौतीहरूको सामना गर्न नवीन उपाय खोज्नुपर्ने उल्लेख गरे।
उनले महामारी नियन्त्रणका लागि समान पहुँचयुक्त सेवा र वैश्विक साझेदारी अपरिहार्य रहेको बताए। साथै, विश्व स्वास्थ्य संगठनले अगाडि सारेको महामारी सन्धिको नेपालले स्वागत गरेको पनि उनले बताए।
मन्त्री पौडेलले नेपालले पोलियो उन्मूलन, मातृ तथा शिशु मृत्युदरमा उल्लेखनीय प्रगति र खोपको पहुँच विस्तारमा उल्लेखनीय सफलता हासिल गरेको जानकारी सम्मेलनमा गराएका छन्। साथै, महिला स्वास्थ्य स्वयंसेविका र विद्यालय स्वास्थ्य कार्यक्रमले महत्वपूर्ण योगदान गरेको पनि उनले बताए।

नेपालमा लागू गरिएको स्वास्थ्य बीमा, रोकथाममुखी सेवा, डिजिटल स्वास्थ्य, र महामारी पूर्वतयारीका उपायहरूबारे जानकारी दिँदै उनले जलवायु परिवर्तन, वृद्ध जनसंख्या, मानसिक तथा नसर्ने रोग, र आन्तरिक बसाइसराइका कारण उत्पन्न चुनौतीहरू सामनाका लागि अन्तर्राष्ट्रिय सहकार्य अपरिहार्य रहेको उल्लेख गरे।
उनले जलवायु परिवर्तनले स्वास्थ्य क्षेत्रमा पारिरहेको गम्भीर असरबारे पनि विश्व समुदायलाई सचेत गराउँदै नेपालको ‘सगरमाथा संवाद’ कार्यक्रमको सन्दर्भ प्रस्तुत गरे। उनले निकट भविष्यमा नेपालमै जलवायु–स्वास्थ्यसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने घोषणा पनि गरे।
मन्त्री पौडेलले सम्मेलनको क्रममा विभिन्न देशका स्वास्थ्य अधिकारीहरूसँग भेटघाट गर्दै नेपालको स्वास्थ्य क्षेत्रमा सहकार्यको प्रस्ताव राखिरहेका छन्।








