
काठमाडाैं- स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले वैदेशिक विकास सहायता कटौतीका कारण नेपालको मातृ, बाल र नवजात शिशु जीवनरक्षा कार्यक्रममा समस्या आइरहेको बताउँदै यसको निरन्तरता सुनिश्चित गर्न संयुक्त राष्ट्रसंघ र अन्य अन्तर्राष्ट्रिय दातृ निकायसँग सहयोगका लागि आग्रह गरेका छन्।
मन्त्री पौडेलले स्विट्जरल्यान्डको जेनेभामा हुने विश्व स्वास्थ्य संगठनको ७८औँ सभाका पूर्वसन्ध्यामा आयोजित मन्त्रीस्तरीय गोलमेचमा यस्ताे भनेका हुन्। उनले भने, “वैदेशिक विकास सहायता कटौतीका कारण प्रजनन उमेरका लगभग ५० लाख महिलाले प्राप्त गर्ने सेवा र पाँच वर्षमुनिका १५ लाख बालबालिकाको पोषण कार्यक्रम जोखिममा पर्न थालेको छ। ३५ लाख वयस्कले प्रजनन शिक्षा र सेवामा समेत प्रभाव भोगिरहेका छन्।”
पौडेलका अनुसार, नेपालले निम्न तथा मध्यम आय समूहको सूचीमा उक्लिँदै गरेको अवस्थामा द्विपक्षीय र बहुपक्षीय सहयोग घटेसँगै प्रमुख स्वास्थ्य कार्यक्रम जस्तै खोप, पोषण, सुरक्षित गर्भपतन र पारिवारिक योजना असुरक्षित बन्दै गइरहेका छन्। उनले थपे, “यस चुनौती सामना गर्न सरकारले आन्तरिक बजेट वृद्धि गरिरहेको भए पनि घट्दो स्वास्थ्य बजेटले सीमा तोकेको छ।”
मन्त्री पौडेलले अन्य अल्पविकसित राष्ट्रहरू पनि सहयोग कटौतीको मारमा परिरहेकाले, दीगो आर्थिक र प्राविधिक सहयोग जारी राख्न अन्तर्राष्ट्रिय समुदायलाई आग्रह गरे। बैठकमा उनले प्रस्तुत गरेको तथ्यांकअनुसार, सन् २०२३ मा नेपालले एक लाख जीवित जन्ममा हुने मातृ मृत्यु दरलाई सन् २००० को तुलनामा ७१ प्रतिशतले घटाउन सफल भएको छ र सुधार जारी रहँदा २०३० सम्म दिगो विकास लक्ष्य हासिल हुने विश्वास व्यक्त गरे।
जेनेभामा रहेका उनले आगामी दिनमा सभामा सम्बोधन गर्नुका साथै विभिन्न देशका स्वास्थ्य मन्त्री र स्वदेश–परदेशमा कार्यरत नेपाली चिकित्सक समुदायसँग समेत भेटघाट गर्ने कार्यक्रम तय भएको छ।