जनकपुरधाम – गम्भीर रोगीहरूलाई लक्षित गर्दै मधेश प्रदेश सरकारले सञ्चालनमा ल्याएको ‘स्वास्थ्य सहायता कार्यक्रम’ बजेट अभावका कारण पूर्ण रूपमा बन्द भएको छ। आर्थिक वर्ष २०८०/८१ मा सुरु गरिएको यो कार्यक्रम चालु वर्षमा पर्याप्त बजेट नहुँदा अघि बढ्न नसकेको हो।
पूर्वमुख्यमन्त्री लालबाबु राउतको पालामा सुरु गरिएको कार्यक्रम सुरुमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयअन्तर्गत सञ्चालनमा थियो। पछि यसलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मातहत राखिएको थियो। क्यान्सर, मुटु रोग, मिर्गौला फेल, पार्किन्सन, अल्जाइमर, सिकलसेल एनिमिया, थालेसेमिया, मस्तिष्कघातलगायत १३ प्रकारका गम्भीर रोगका बिरामीलाई प्रतिव्यक्ति एक लाख रुपैयाँ सहायता दिने व्यवस्था गरिएको थियो।
तर, चालु आर्थिक वर्ष २०८१/८२ मा सरकारको बजेट सीमित हुँदा कार्यक्रम रोकिएको हो। स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य प्रशासक सन्तोष ठाकुरका अनुसार, यो वर्ष सरकारले नौ करोड रुपैयाँ विनियोजन गरेको थियो, जुन ९ सय बिरामीलाई वितरण भइसकेको छ। “तर अझै चार हजारभन्दा बढी बिरामीले आवेदन दिएका छन्, तर बजेट नहुँदा हामी सहयोग गर्न असमर्थ छौं,” ठाकुरले बताए।

उनका अनुसार दुई महिनाअघि अर्थ मन्त्रालयसँग ३८ करोड रुपैयाँको थप बजेट माग गरिएको भए पनि हालसम्म रकमान्तर भएको छैन।
कार्यक्रम ठप्प भएपछि उपचार खर्च धान्न नसक्ने आर्थिक रूपले कमजोर बिरामीहरू अलपत्र परेका छन्। आठवटै जिल्लाबाट दैनिक २०–२५ बिरामी आर्थिक सहायताको लागि निवेदन लिएर आउने गरेको ठाकुरले जानकारी दिए।
महोत्तरीको औरही नगरपालिका–५ का बिरामी सोहन मुखियाले भने, “हामीजस्ता जनताको पीडासँग नेताहरूलाई कुनै मतलब छैन। न चासो छ, न सहानुभूति।”








