काठमाडाैं – सन् २०२५ को हज यात्राका लागि साउदी अरब जान लागेका नेपाली हजयात्रीहरूको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै नेपाल मेडिकल कलेजले अत्यावश्यक औषधीको व्यवस्थापन गरेको छ। कलेजका अध्यक्ष प्रा.डा. जैनुद्धिन अन्सारीले हज समितिका पदाधिकारीलाई बिहीबार कलेजमै बोलाई औषधी हस्तान्तरण गरेका हुन्।

प्रा.डा. अन्सारीले हजयात्रीहरूलाई सफल र सुरक्षित यात्रा होस् भन्ने शुभकामना दिँदै औषधी प्रदान गरेका थिए। उनका अनुसार ती औषधीहरू यात्राका क्रममा देखिन सक्ने सामान्यदेखि आपत्कालीन स्वास्थ्य समस्याहरूमा प्रयोग गर्न मिल्ने खालका छन्।
उक्त अवसरमा नेपाल हज समितिका अध्यक्ष इश्रा मुल्ला मियाँले डा. अन्सारीप्रति आभार व्यक्त गर्दै भने, “यहाँले प्रदान गर्नु भएको औषधीले धेरै हजयात्रीहरूको जीवनरक्षा गर्न टेवा पुग्ने विश्वास लिएका छौं। हामी यहाँको सद्भाव र सहयोगप्रति कृतज्ञ छौं।”

नेपाल हज समितिका अनुसार यसपटक ११७१ जना नेपाली हजयात्री साउदी अरबको मक्का-मदिना जाँदैछन्। तीमध्ये ५२५ जना महिला र ६४६ जना पुरुष छन् भने करिब २०० जना ज्येष्ठ नागरिक रहेका छन्। साउदी सरकारले नेपाललाई यसवर्ष १२०० हजयात्रीको कोटा दिएको छ।
नेपाल हज समिति प्रत्येक वर्ष हजयात्राको व्यवस्थापनका लागि काम गर्दै आएको छ।







