काठमाडौँ – सार्वजनिक तथा निजी स्वास्थ्य संस्थामा सूचना प्रविधिको उपयोगलाई प्रोत्साहन गर्ने उद्देश्यसहित राष्ट्रिय आविष्कार केन्द्रले अस्पताल र स्वास्थ्य चौकीका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड (ईएमआर) प्रणाली ल्याएको छ।

केन्द्रका अध्यक्ष महावीर पुनले सामाजिक सञ्जालमार्फत जानकारी दिँदै सामुदायिक अस्पताल, गाउँपालिका तथा नगरपालिका अन्तर्गतका स्वास्थ्य संस्थाले सस्तो मूल्यमा यो प्रणाली जडान गर्न सक्ने बताएका छन्।
“नेपालका सामुदायिक अस्पताल, स्वास्थ्य चौकी र प्राथमिक उपचार केन्द्रहरूले एकदमै सस्तो मूल्यमा यो प्रणाली जडान गर्न चाहनुहुन्छ भने बजेट छुट्याएर सम्पर्क गर्नुहोस्,” पुनले लेखेका छन्।

उनका अनुसार यस प्रणालीमा बिरामी दर्ता, क्लिनिकल मोड्युल, प्रयोगशाला प्रणाली, बिलिङ, एकीकृत स्वास्थ्य बीमा तथा टेलिमेडिसिन सेवा जस्ता सुविधाहरू समावेश छन्। साथै, यो प्रणाली ‘DHIS2’ प्लेटफर्ममा पनि कार्यान्वयन गर्न सकिने क्षमतासम्पन्न रहेको जनाइएको छ।
पुनका अनुसार गण्डकी प्रदेशका पर्वत, मनाङ, मुस्ताङ र स्याङ्जा जिल्लास्थित विभिन्न अस्पतालमा यो प्रणाली सफलतापूर्वक जडान भइसकेको छ।







