काठमाडौं- नेपाल डेन्टल एसोसिएशनको नेतृत्वमा दन्त चिकित्सकहरूले १५ शय्या क्षमताका आधारभूत अस्पतालमा दरबन्दी सुनिश्चित गर्न माग गर्दै देशव्यापी आन्दोलन थालेका छन्।

सरकारले हालै पारित गरेको ‘आधारभूत अस्पताल सञ्चालन मापदण्ड, २०८१’ मा १५ शय्याका अस्पतालमा दन्त चिकित्सकको दरबन्दी सुनिश्चित नगरेको भन्दै चिकित्सकहरू आन्दोलित भएका हुन्। आन्दोलनमा सहभागी चिकित्सकहरूले विरोध स्वरूप कालोपट्टी बाँधेर सेवामा खटिन थालेका छन्।

एसोसिएशनका अनुसार आन्दोलनको पहिलो चरणमा आइतबारदेखि देशभरका सबै निजी तथा सरकारी स्वास्थ्य संस्थाहरूको डेन्टल ओपीडी तथा वेटिङ क्षेत्रमा ‘नगरपालिकामा हुने १५ शय्याको आधारभूत अस्पतालमा दन्त चिकित्सकको दरबन्दी राखी नेपाली नागरिकलाई उचित सेवा प्राप्तिको प्रत्याभूति गर’ भन्ने ब्यानर र पोस्टर टाँस्ने र कालोपट्टी बाँधेर काम गर्ने कार्यक्रम सञ्चालन भइरहेको छ।
नेपाल डेन्टल एसोसिएशनले दन्त स्वास्थ्यलाई पनि प्राथमिक स्वास्थ्य सेवाको हिस्साका रूपमा मान्यता दिन सरकारसँग माग गर्दै आएको छ।







