बाजुरा- बाजुराको दुर्गम गाउँपालिका जगन्नाथ–२ मा कुपोषणका कारण दुई महिनाकी शिशुको मृत्यु भएको छ।
मल्लोहुनीकी भावना बिष्टकी छोरीको कुपोषणसँगै अन्य रोगको संक्रमणबाट मृत्यु भएको जिल्ला अस्पताल बाजुराका डाक्टर प्रकाश बुढाले जानकारी दिए। गम्भीर अवस्थामै अस्पताल ल्याइएको शिशुको ज्यान बचाउन नसकिएको उनले बताए।
स्वास्थ्यकर्मीहरूका अनुसार जिल्लाका अन्य गाउँहरूमा पनि कुपोषण व्यापक रहेको पाइएको छ। स्वामीकार्तिक खापर गाउँपालिका–१ मुक्तिकोटमा मात्रै १४ जना बालबालिका गम्भीर कुपोषणको अवस्थामा छन्।
स्थानीय बासिन्दाहरू भन्छन्, “रेकर्डमा नआएका धेरै बालबालिकाको ज्यान कुपोषणकै कारण गएको छ।”
बुढीगंगा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहका अनुसार दुर्गमता, स्वास्थ्य सेवामा पहुँचको कमी, न्यून प्रभावकारिता र गरिबीले समस्या झनै गम्भीर बनाएको छ।

सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालयले गरेको सर्वेक्षण अनुसार बाजुरामा ५ वर्षमुनिका बालबालिकामध्ये ४८.८ प्रतिशत पुड्कोपन, ८.६ प्रतिशत ख्याउटेपन र ३०.६ प्रतिशत कम तौलका छन्।
कुपोषणसँगै जिल्लामा महिलामा पाठेघरसम्बन्धी रोग, रक्तअल्पता, असुरक्षित सुत्केरी र बारम्बार गर्भधारणका समस्या पनि व्यापक छन्।
जिल्ला खाद्य अधिकार सञ्जालका अध्यक्ष लक्ष्मीराज पाध्यायले बर्सेनि कुपोषणका कारण दर्जनौं बालबालिकाको मृत्यु हुने गरे पनि दीर्घकालीन समाधानमा राज्यको ध्यान नपुगेको बताए।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख महेश चन्दले मातृ तथा शिशु मृत्युसम्बन्धी एकिन तथ्यांक अभावमा समस्या व्यवस्थापन कठिन बनेको बताए।







