

नवलपरासी पश्चिम- बर्दघाट नगरपालिकाले सेवा अवधि पूरा गरेका महिला स्वास्थ्य स्वयंसेविकालाई २ लाख ५० हजार रुपैयाँ नगद प्रोत्साहन तथा १५ हजार रुपैयाँ बराबरको मोबाइल फोन प्रदान गर्ने घोषणा गरेको छ।
नगरपालिकालाई पूर्ण खोप र संस्थागत प्रसूति सेवा सुनिश्चितता तथा दिगोपनामा पुर्याएको योगदानको सन्दर्भमा आयोजित समारोहमा नगरप्रमुख शम्भुलाल श्रेष्ठले उक्त घोषणा गरेका हुन्।
उनका अनुसार, यसअघि दिँदै आएको २ लाख रुपैयाँ प्रोत्साहनमा ५० हजार रुपैयाँ थप गरी आगामी आर्थिक वर्षदेखि नयाँ व्यवस्था लागू गरिने छ। साथै, प्रत्येक स्वयंसेविकालाई एक थान मोबाइल फोन पनि उपलब्ध गराइनेछ।
नगरप्रमुख श्रेष्ठले स्वास्थ्य सेवालाई नागरिकको घरदैलोमा पुर्याउन स्वयंसेविकाहरूले जुन समर्पण र सेवा भाव देखाएका छन्, त्यसको सम्मानस्वरूप यस्तो निर्णय गरिएको बताए।
कार्यक्रममा सहभागी महिला स्वास्थ्य स्वयंसेविकाहरूले आफ्नो सेवाभावको कदर भएको महसुस गर्दै खुशी व्यक्त गरे। उनीहरूले यस्तो प्रोत्साहनले आफूहरूलाई अझ जिम्मेवार र ऊर्जाशील भएर सामाजिक सेवामा लाग्न प्रेरणा मिल्ने उल्लेख गरे।
हाल बर्दघाट नगरपालिकामा ४४ जना महिला स्वास्थ्य स्वयंसेविका कार्यरत छन्।