

काठमाडौं- १३ वर्षअघि मिर्गौला र कलेजो जस्ता संवेदनशील अंग प्रत्यारोपणका लागि विशिष्टिकृत सेवा दिने उद्देश्यले स्थापना गरिएको शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र अझै आफ्नै भवनविहीन छ । वार्षिकोत्सवका अवसरमा आइतबार आयोजित कार्यक्रममा केन्द्रका कार्यकारी निर्देशक डा. पुकार चन्द्र श्रेष्ठले जग्गा नपाएर सेवा विस्तारमा असहज भएको गुनासो पुनः दोहोर्याए ।
श्रेष्ठले विगत १३ वर्षमा ८ जना प्रधानमन्त्री, २० स्वास्थ्य मन्त्री र ३० भन्दा बढी सचिवलाई बारम्बार आग्रह गर्दा पनि केन्द्रका लागि उपयुक्त जग्गा पाउन नसकेको बताए ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा उपस्थित स्वास्थ्य मन्त्री प्रदीप पौडेलले पनि ढिलाइको स्वीकारोक्ति गर्दै स्थानीय तहलाई छिटो निर्णय गर्न चेतावनी दिए । प्रत्यारोपण केन्द्रलाई जमिन छिट्टै उपलब्ध गराइदिन उनले भक्तपुरका स्थानीय तहलाई आग्रह पनि गरे । “यो अस्पताल आफ्नो पालिकामा चाहिएको हो भने समयमै चढ्नुहोस्, नत्र रेल छुट्छ,” मन्त्री पौडेलले भने ।
वि.सं. २०६९ मा स्थापना भई २०७० देखि मिर्गौला प्रत्यारोपण सेवा सुरु गरेको केन्द्रले हालसम्म १४०१ मिर्गौला र ३३ कलेजो प्रत्यारोपण गरिसकेको छ । तर अझै पनि केन्द्र भक्तपुर अस्पतालकै भवनमा सीमित छ, जहाँ ठाउँको अभावले सेवा विस्तार चुनौतीपूर्ण बनेको छ ।
विभिन्न स्थानमा केन्द्रका लागि जग्गा खोजिएको थियो । नेपाल ट्रस्टको जग्गा, नेपाली सेनाको प्रयोगमा रहेको क्षेत्र, सिपाडोलको इँटा कारखानाको जमिन र हाल चाँगुनारायण नगरपालिकाको सुडालमा रहेको ३५ रोपनी जग्गा खाेजिएकाे थियाे । तर सबै प्रयास अन्ततः अर्थ मन्त्रालय वा अन्य निकायमा अड्किएर अघि बढ्न सकेनन् ।
२०७८ मा चाँगुनारायण–३ झौखेलमा प्राप्त ३० रोपनी जग्गा भने अपायक, भिरालो र साँघुरो बाटो भएका कारण उपयोग गर्न नसकिने ठहर गरियो ।
केन्द्र प्रमुख डा. श्रेष्ठको कार्यकाल अब केही महिना मात्र बाँकी छ । उनले आफ्नै पालामा केन्द्रलाई स्थायी भवनमा रूपान्तरण गर्ने इच्छा व्यक्त गर्दै आए पनि त्यो सपना अधुरै रहने संकेत देखिएको छ ।