

काठमाडौं – शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरले वैदेशिक रोजगारीबाट फर्किएका नेपाली कामदारहरूलाई लक्षित गर्दै निःशुल्क ओपीडी क्लिनिक सेवा सुरु गरेको छ। साथै, चौबिसै घण्टा उपलब्ध हुने अनलाइन स्वास्थ्य परामर्श सेवा पनि सुरु गरिएको छ।
केन्द्रको १३औं वार्षिक उत्सवको अवसरमा आयोजित विशेष कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले उक्त सेवाहरूको औपचारिक उद्घाटन गरे।
कार्यक्रममा मन्त्री पौडेलले नेपालमा मात्र होइन, विदेशमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूले पनि सहज रूपमा स्वास्थ्य परामर्श सेवा प्राप्त गर्न सकून् भन्ने उद्देश्यले टोल फ्री कल तथा सामाजिक सञ्जाल (सोसल मिडिया) को माध्यमबाट विदेशबाटै परामर्श लिन मिल्ने व्यवस्था गरिएको जानकारी दिए।
उक्त सेवा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सहकार्यमा सञ्चालनमा ल्याइएको हो। मन्त्री पौडेलले वैदेशिक रोजगारबाट फर्किने कामदारहरूमा अंग फेल हुने समस्या बढ्दै गएको उल्लेख गर्दै, आफूले सबैभन्दा धेरै माया गर्नु पर्ने आफ्नो शरीरको सुरक्षाका लागि यस्तो पहल गरिएको स्पष्ट पारे।
स्वास्थ्य परीक्षण सजिलै उपलब्ध गराउने उद्देश्यले छुट्टै निःशुल्क ओपीडी सेवा सुरु गरिएको हो। उनले वैदेशिक रोजगारमा जान लागेकाहरू, हाल विदेशमा रहेका कामदारहरू तथा फर्किएकाहरू सबैले यो सेवाबाट लाभ उठाउन सक्ने बताए।
उक्त सेवाको लागि चौबिसै घण्टा मोबाइल नम्बर ९७६३४९०९०० मा व्हाट्सएप तथा भाइबर मार्फत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ।