

काठमाडौं- नेपाल चिकित्सक संघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको वेवास्ता र आवासीय चिकित्सकलाई दिइनुपर्ने भत्ता अझै नपाएको भन्दै आफ्नो आन्दोलनलाई जारी राख्ने घोषणा गरेको छ । संघले आजको घेराउ कार्यक्रममा सहभागी भएका सम्पूर्ण चिकित्सकहरुलाई धन्यवाद दिँदै भोली पनि आन्दोलन यथावत् रहने जनाएको छ ।
संघले आज सार्वजनिक गरेको प्रेस विज्ञप्तिमा भनिएको छ, “चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णयअनुसार आवासीय चिकित्सकहरुले पाउनुपर्ने निर्वाह भत्ता हालसम्म नपाएको र विभिन्न ठाउँबाट धम्कीसमेत आएको कारणले हामी आन्दोलनमा उत्रिनु परेको हो ।”
संघले भाेलि वैशाख १२ गते सबै निजी तथा सरकारी अस्पताल, क्लिनिक, मेडिकल कलेज तथा अन्य स्वास्थ्य संस्थाहरुमा अत्यावश्यक सेवा (जस्तै आकस्मिक र सघन उपचार सेवा) बाहेक अन्य सबै सेवा बन्द गर्न चिकित्सक तथा स्वास्थ्यकर्मीहरूलाई अपिल गरेको छ ।
उपत्यकाभित्रका स्वास्थ्यकर्मी तथा चिकित्सकलाई बिहान ११ बजे माईतीघर मण्डलामा भेला भई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा धर्ना दिन र उपत्यका बाहिरका स्वास्थ्यकर्मीलाई सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा धर्ना दिन संघले आह्वान गरेको छ।
