
काठमाडौं- सरकारले तोकेको न्यूनतम पारिश्रमिक नदिएको भन्दै आन्दोलनरत चिकित्सकहरूले बिहीबार स्वास्थ्य मन्त्रालय घेराउको प्रयास गरेका छन् । नेपाल चिकित्सक संघको आह्वानमा आवासीय चिकित्सकहरू माइतीघरबाट ¥याली निकालेर मन्त्रालयतर्फ जाँदै गर्दा प्रहरीले बाटोमै रोकेपछि केही समय तनावपूर्ण अवस्था सिर्जना भएको थियो ।
संघले चिकित्सा शिक्षा आयोगको निर्णयअनुसार आठौं तह बराबरको तलब संरचना कार्यान्वयन गर्न र शैक्षिक प्रगतिको सुनिश्चितता गर्न माग गर्दै सरकारलाई २४ घण्टे अल्टिमेटम दिएको छ । संघले मागहरू पुरा नभए वैशाख १२ गतेदेखि आकस्मिक र सघन उपचार सेवा बाहेक सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चेतावनी दिएको छ ।
स्वास्थ्य मन्त्रालयतर्फ जाँदै गर्दा प्रहरी र आन्दोलनरत चिकित्सकबीच केहिबेर धकेलाधकेलसमेत भएको थियो । चिकित्सकहरूले “श्रमको सम्मान गर”, “भत्ता हाम्रो अधिकार हो” भन्ने नारासहित प्रदर्शन गरेका थिए ।
संघले यसअघि पनि पटक–पटक सरकारसँग संवाद प्रयास गरेको जनाएको छ । तर, कार्यान्वयनको पक्ष कमजोर रहेकाले आन्दोलन चर्काउनुपर्ने अवस्था आएको बताइएको छ ।



