सल्यान – सल्यानमा संचालित सरकारी र निजी स्वास्थ्य संस्थाहरूमा म्याद सकिएका औषधिहरू बिक्रीका लागि राखिएको खुलेको छ । झन्डै आठ लाख रुपैयाँ बराबरका म्याद सकिएका औषधि र सर्जिकल सामग्रीहरू फेला परेपछि आम उपभोक्ताबीच त्रास फैलिएको छ ।
उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सल्यानको समन्वयमा जिल्ला प्रशासन कार्यालय सल्यान र औषधि व्यवस्था विभाग नेपालगन्जको संयुक्त अनुगमन टोलीले जिल्लाभरको २० वटा स्वास्थ्य संस्थामा यस्तो लापरबाही भेटिएको हो । झन झस्किन लायक कुरा के छ भने, सरकारी सेवा दिने जिल्ला अस्पताल सल्यानको फार्मेसीमा समेत म्याद सकिएका औषधिहरू बिक्रीका लागि राखिएको भेटिएको छ ।
अनुगमन टोलीका अनुसार, शारदा नगरपालिका, सिद्धकुमाख गाउँपालिका, बागचौर नगरपालिका लगायतका विभिन्न स्थानहरूमा रहेका अस्पताल, मेडिकल हल तथा फार्मेसीहरूबाट म्याद सकिएका औषधिहरू फेला परेका हुन् । केही मेडिकलहरू त अनुगमनको सूचना पाएपछि सटर बन्द गरेर भागेका थिए ।

औषधि व्यवस्था विभागका अनुसार बरामद गरिएका औषधिहरू नष्ट गर्न नेपालगन्ज पठाइएको छ भने संलग्न संस्थाहरूलाई हाललाई चेतावनी दिइएको छ । विभागका प्रमुख श्यामलाल खरालले अब नियमित अनुगमन थप कडाइका साथ गरिने र लापरबाही दोहोरिएमा कानुनी कारबाही हुने चेतावनी दिएका छन् ।








