

काठमाडौँ- एक साता परीक्षण गरिएका महिलामध्ये ४८ जनामा एचपिभी (ह्युमन प्यापिलोमा भाइरस) डिएनए पोजेटिभ देखिएको छ ।
काठमाडौँ महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा चैत १२ गते थालेको पाठेघरको मुखको क्यान्सर र स्तन क्यान्सरको निःशुल्क परीक्षणका क्रममा चैत १८ गतेसम्मको परीक्षण रिपोर्टमा यस्तो देखिएको हो ।
परीक्षणका लागि चैत २५ गतेसम्ममा ८४६ जना महिलाको नाम दर्ता भएको छ । उनीहरुमध्ये ६१३ जनाको परीक्षण भइसकेको छ ।
परीक्षण गरिएकामध्ये १४४ जनाको मेमोग्राम गरिएको छ। वंशानुगत स्तन क्यान्सर भएका, गएको वर्षको परीक्षणमा पोजेटिभ देखिएपछि सम्पर्कमा आएका र यस वर्ष प्रारम्भिक परीक्षणका क्रममा थप परीक्षण गर्नुपर्ने महिलाहरुको मेमोग्राम गरिएको हो ।
परीक्षण गरिएकामध्ये २२ जनामा स्त्री तथा प्रसूतिसँग सम्बन्धित समस्या देखिएको छ। चैत १२ गते परीक्षण सुरु भएको थियो ।
प्रारम्भिक उपचार २०८२ वैशाख १२ गतेसम्म सञ्चालन हुनेछ। गएको वर्ष गरिएको परीक्षणका क्रममा छुटेका ३० वर्षदेखि ६० वर्ष उमेर समूहका महिला, गएको वर्ष परीक्षण गर्दा पोजेटिभ देखिएका महिलाहरु नै परीक्षण र प्रारम्भिक उपचार लक्षित समूह हुन् ।
जाँच गराउन सबैभन्दा पहिले नजिकैको स्वास्थ्य प्रवर्द्धन केन्द्रमा गएर विवरण टिपाउनुपर्छ । विवरण टिपाएपछि केन्द्रले रेफरल स्लिप दिन्छ। सो स्लिप लिएर परीक्षणका लागि वीर अस्पताल सर्जिकल भवनको भुइँ तलामा जानुपर्छ। परीक्षणका क्रममा महिलाको स्तनको क्लिनिकल जाँच हुन्छ ।