

काठमाडौँ- थर्ड इन्टरनेशनल हेड एण्ड नेक अन्कोलोजी वीथ एस्थेटिक कन्फ्रेन्स राजधानीमा सुरु भएको छ । कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एण्ड रिसर्च सेन्टर र भारतको आन्ध्रप्रदेशस्थित जीएसएल एजुकेशनल ईन्स्टिच्युसन्सको संयुक्त आयोजनामा आज देखि सुरु भएको यो कन्फ्रेन्स दुई दिनसम्म चल्नेछ ।
कन्फ्रेन्समा नेपाल सहित भारत श्रीलंका, उज्बेकिस्तान र नर्बे लगायतका देशबाट विषयविज्ञ चिकित्सकहरुको सहभागीता छ ।
कन्फ्रेन्स आयोजक मुल समितिका संयोजक प्राडा दिप्सिखा बज्राचार्यका अनुसार सम्मेलनमा स्वदेश तथा विदेशका गरी कुल २५० चिकित्सकहरुको सहभागिता रहेको छ । सम्मेलनमा ३७ वटा पेपर तथा पोष्ट्रर प्रिजेन्टेशन रहने छ ।
यो कन्फ्रेन्समा टाउकोदेखि घाँटीको भागसम्म देखिने क्यान्सर, त्यसका कारक तत्व र यससंग सम्वन्धित विभिन्न नयाँ उपचार पद्धतिहरुको बारेमा छलफल तथा विचार बिमर्श गरिनेछ ।
यस्तै क्यान्सर भएका बिरामीहरुको उपचार पछिको अनुहार आकृतिबारेमा विशेष ज्ञान सीप र अनुभवहरुको आदान प्रदान हुनेछ ।
कन्फ्रेन्स उद्घाटन सत्रमा बोल्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हेड एण्ड नेक क्यान्सरको अवस्था भयावहरुपमा बढ्दै गएको भन्दै यसको उपचारमा आएका नविनतम विषयका बारेमा अन्तरदेशीय विज्ञबीच छलफल हुनु राम्रो कुरा भएको बताए । सो अवसरमा उनले उनले सम्मेलनले दिने निष्कर्ष मन्त्रालय समक्ष पुरयाउन समेत आग्रह गरे ।
आयोजक संस्था कान्तिपुर डेन्टल कलेजका अध्यक्ष डा बुद्धिमान श्रेष्ठले चिकित्सा विज्ञान आफैमा अनुसन्धान र विकाससंग जोडिने विषय हो भन्दै दुई दिने सम्मेलनले नेपालमा टाउँको देखि घाँटीसम्मको भागमा देखिने क्यान्सरबारे गहन छलफल र बहस हुने बताए । उनले यस्ता सम्मेलनले चिकित्सकबीच सीप तथा ज्ञानको आदान प्रदान हुने बताए ।
अर्को आयोजक संस्था जीएसएल एजुकेशनल इन्स्टिच्युसन्सका डा गन्नी सन्दीपले विभिन्न देशका विज्ञ चिकित्सक सहभागी हुने यस्तो सम्मेलनले उपचारका क्षेत्रमा नयाँ आयाम ल्याउने विश्वास व्यक्त गरे । उनले नयाँ नयाँ केश, उपचार पद्धतीबारे अन्तरदेशीय समन्वय गर्न सहज हुने यसले पेशागत सीप र दक्षता अभिबृद्धिमा समेत महत्वपूर्ण सहयोग पुराउने बताए । उनले पहिलो र दोस्रो सम्मेलन श्रीलंका भएको र यसपटक तेस्रो सम्मेलन नेपालमा भएकोमा बधाई समेत दिए ।
कार्यक्रममा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका डीन डा प्रेनीतकुमार पोखरेलले हेड एण्ड नेक क्यान्सरबाट प्रभावित हुनेको संख्या बढी रहेको सन्दर्भमा यस्तो खालको सम्मेलन हुनु महत्वपूर्ण विषय भएको बताए । उनले हेड एण्ड नेक क्यान्सरको सर्जरी तथा उपचारमा बहु विशेषज्ञ चिकित्सकको आवश्यकता हुने भन्दै यो अरु भन्दा फरक र महत्वपूर्ण विषय भएको बताए ।
नेपाल क्यान्सर अस्पताल हरिसिद्धिका प्रमुख एवम् बरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा सुदीप श्रेष्ठले सचेतनाको कमीले पनि मुख तथा घाँटीको क्यान्सरबाट प्रभावित हुनेको संख्या बढी भएको भन्दै यसलाई न्युनिकरणका लागि उपचारसंगै सचेतना फैलाउनु पर्ने बताए ।
सम्मेलनमा उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, श्रीलंकाका प्रतिनिधि, भारतका अन्य प्रतिनिधिहरुले पनि बोलेका थिए ।
उद्घाटन सत्र पछि विभिन्न विषयका विज्ञहरुले प्रस्तुतिकरण राख्न सुरु गरेका छन् ।