

कञ्चनपुर- कञ्चनपुरको भीमदत्त नगरपालिका–४ महेन्द्रनगरस्थित विष्ट हेल्थ केयर क्लिनिक मेडिकल स्टोरले बिना स्वास्थ्य परीक्षण २ सय रुपैयाँमा निरोगिताको प्रमाणपत्र वितरण गरिरहेको खुलासा भएको छ ।
यातायात व्यवस्था कार्यालय, महेन्द्रनगरमा पेस हुने अधिकांश प्रमाणपत्र उक्त क्लिनिकका रहेको पाइएको छ । क्लिनिकका सञ्चालक डाक्टर चन्दन सिंह विष्ट को नाम, हस्ताक्षर र छाप प्रयोग गरी दुई वर्षदेखि परीक्षण बिना नै प्रमाणपत्र बिक्री भइरहेको छ । यातायात कार्यालय परिसरका पसलहरूले आधा रकम क्लिनिकलाई बुझाएर प्रमाणपत्र बिक्री गर्दै आएका छन् ।
यातायात व्यवस्था कार्यालय र स्थानीय प्रशासन यो विषयमा जानकार भए पनि हालसम्म कुनै कारबाही भएको छैन । महाकाली प्रादेशिक अस्पताल लाई स्वास्थ्य परीक्षणमार्फत प्रमाणपत्र दिन आग्रह गरिए पनि कार्यान्वयन भएको छैन ।
प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद सापकोटा ले गैरकानुनी रूपमा प्रमाणपत्र बिक्री भएमा कानुनी कारबाही गरिने बताएका छन् । सवारी चालक अनुमति पत्रका लागि छारे रोग, मानसिक सन्तुलन, दृष्टिदोष, र अन्य स्वास्थ्य परीक्षण आवश्यक भए पनि बिना परीक्षण प्रमाणपत्र वितरण भइरहेको गम्भीर लापरबाही देखिएको छ ।