

काठमाडौं- – काठमाडौं बुधबार पनि विश्वकै सबैभन्दा प्रदूषित सहर बनेको छ। वायु गुणस्तर मापन गर्ने अन्तर्राष्ट्रिय निकाय आईक्यू एयरको सूचकांकअनुसार, विश्वका १२४ सहरमध्ये काठमाडौं पहिलो स्थानमा रहेको छ।
आइतबारयता लगातार काठमाडौं यो सूचीको शीर्ष स्थानमा छ। बुधबार बिहान ११:३० बजे काठमाडौंको वायु गुणस्तर सूचकांक एक्यूआई २४२ पुगेको आईक्यू एयरको तथ्यांकमा उल्लेख छ । मंगलबार सोही समयमा काठमाडौंको एक्यूआई२५६ मापन गरिएको थियो।
यस सूचीमा दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ, जहाँ एक्यूआई२१२ छ। अन्य सहरहरूमा यो सूचकांक २०० भन्दा कम रहेको देखिएको छ । स्वास्थ्यका दृष्टिकोणले काठमाडौं र दिल्ली दुबै अति अस्वस्थकर सहरका रूपमा चिनिएका छन् ।
वातावरण विभागका अनुसार, काठमाडौं उपत्यकाका पाँच स्थानमा वायु प्रदूषण उच्च देखिएको छ। बुधबार बिहान ११:३० बजे शंखपार्क, रत्नपार्क (काठमाडौं), खुमलटार, भैंसेपाटी (ललितपुर) र भक्तपुर क्षेत्रमा एक्यूआई १७४ देखि १९५ सम्म मापन भएको छ ।
एक्यूआई स्तर अनुसार, १०१-१५० को वायु बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरूका लागि अस्वस्थकर मानिन्छ। १५१-२०० स्तर सबैका लागि अस्वस्थकर रहन्छ । त्यस्तै, २०१-३०० को स्तर ‘अति अस्वस्थकर’ र ३०० भन्दा माथिको स्तरलाई ‘खतरनाक’ मानिन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार, यस्ता उच्च प्रदूषण स्तर गम्भीर स्वास्थ्य समस्या निम्त्याउने खालका हुन्छन् ।