

तनहुँ – तनहुँ कारागारमा ६ महिनादेखि स्वास्थ्यकर्मीको अभावका कारण बिरामी कैदीबन्दीलाई उपचारमा कठिनाइ भएको छ ।
स्वास्थ्य सहायक श्यामसिंह बोहोरा असोजमा सरुवा भएसँगै नयाँ स्वास्थ्यकर्मी नआउँदा कैदीबन्दीलाई उपचारका लागि बाहिरी अस्पताल लैजानु परिरहेको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । हाल कारागारमा ४३ जना बिरामी छन्, जसमा उच्च रक्तचाप, मधुमेह, मानसिक स्वास्थ्य, हेपाटाइटिस ‘सी’, एचआईभी एड्स लगायतका दीर्घ रोगीहरू छन् ।
कारागारसँग आफ्नै सवारी साधन नभएकाले बिरामीलाई अस्पताल लैजान कठिनाइ भइरहेको छ । रातको समयमा झनै समस्या हुने जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विरेन्द्रबहादुर शाहीले बताए । कारागार विभागबाट चाँडै एउटा सवारी साधन उपलब्ध गराउने जानकारी आएको छ ।
यसैबीच, पानी अभावको समस्या समाधान भएको छ । कारागार विभागले २० लाख रुपैयाँ विनियोजन गरी नयाँ इनार खनेपछि आवश्यक ४० हजार लिटर पानीको आपूर्ति सहज भएको अधिकारीले जनाए । क्षमताभन्दा दोब्बर कैदीबन्दी भएका कारण सरसफाइमा समस्या भए पनि इनारको पानी आपूर्तिसँगै सुधार आएको कारागार प्रशासनले जनाएको छ ।