

वीरगन्ज – नारायणी अस्पतालको अत्याधुनिक सिटी स्क्यान मेसिन तीन महिनादेखि बिग्रिएको छ, जसका कारण बिरामीहरू महँगो शुल्कमा निजी अस्पताल जान बाध्य भएका छ न्। अस्पतालमा सिटी स्क्यान मेसिन उपलब्ध भए तापनि आवश्यक उपकरण नआउँदा सेवाग्राहीले सास्ती भोग्नुपरेको छ ।
दैनिक २०–२५ जना बिरामी यसैगरी निजी अस्पताल धाउन बाध्य छन् ।
अस्पताल प्रशासनका अनुसार सिटी स्क्यान मेसिनको ‘फ्युज पाइप’ बिग्रिएको छ, जुन चीनबाट मगाउनु पर्ने हुन्छ । रेडियोलोजी विभागका इन्चार्ज प्रदीप साहका अनुसार पार्ट्स ल्याउने प्रक्रिया लामो भएको कारण सेवा सञ्चालन गर्न ढिलाइ भएको हो । अस्पताल विकास समितिका अध्यक्ष धीरज गुप्ताले आवश्यक उपकरण १० लाखभन्दा बढी मूल्यको भएकाले प्रशासनिक प्रक्रिया पूरा गर्न समय लागेको बताए ।
नारायणी अस्पतालमा २५०० देखि ५५०० रुपियाँसम्ममा हुने सिटी स्क्यान जाँच निजी अस्पतालमा जाँदा ४५०० देखि १०००० रुपियाँसम्म पर्न सक्छ । यसले खासगरी विपन्न वर्गका बिरामीलाई ठूलो आर्थिक बोझ परेको छ । अस्पतालका सूचना अधिकारी डा. उदयनारायण सिंहका अनुसार मेसिन बन्द भएपछि सेवाग्राही मात्र नभई अस्पतालको आम्दानीसमेत प्रभावित भएको छ ।
अस्पतालका जिन्सी शाखा प्रमुख सुशील यादवका अनुसार आपूर्तिकर्ता लुम्बिनी साइसेन्सलाई जानकारी गराइसकिएको छ। आपूर्तिकर्ताले दुई हप्तामा उपकरण ल्याइदिने भने पनि चार हप्ता बितिसकेको छ । “ताकिता गरिरहेका छौँ, सप्लायर्सले पनि बाहिरबाट मगाउनु पर्ने भएकाले ढिलाइ भएको हो,” उनले भने ।
अस्पताल प्रशासनले यो महिनाभित्र सिटी स्क्यान मेसिन सञ्चालनमा आउने दाबी गरे पनि बिरामीहरूले समयमै सेवा पाउनेमा शंका व्यक्त गरेका छन् । जबसम्म मेसिन मर्मत हुँदैन, तबसम्म बिरामीहरू निजी अस्पतालको महँगो शुल्क तिर्न बाध्य हुनेछन् ।