

काठमाडौं– काठमाडौं महानगरपालिकाले प्रजनन उमेरका महिलाहरूका लागि स्तन तथा पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण तथा प्रारम्भिक उपचार कार्यक्रम सञ्चालन गर्ने भएको छ। उक्त कार्यक्रम चैत १२ गतेदेखि सुरु भई २०८२ वैशाख १२ गतेसम्म सञ्चालन गरिने छ।
स्वास्थ्य विभागले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान, वीर अस्पतालसँगको सहकार्यमा कार्यक्रम सञ्चालन गर्नेछ। परीक्षणका क्रममा छुट भएका तथा अघिल्लो वर्ष पोजेटिभ देखिएका महिलाहरूलाई प्राथमिकतामा राखिनेछ।
कार्यक्रमका फोकल पर्सन चन्द्रा भट्टका अनुसार, परीक्षण गराउन इच्छुक महिलाले नजिकको स्वास्थ्य प्रवर्धन केन्द्रमा गई विवरण टिपाउनु पर्नेछ। त्यहाँबाट रेफरल टिकट प्राप्त गरेपछि वीर अस्पतालको सर्जिकल भवनको भुइँ तलामा गएर परीक्षण गर्न सकिनेछ।
स्वास्थ्य प्रवर्धन केन्द्रमा विवरण टिपाउनुको उद्देश्य परीक्षण स्थलमा लाइन बस्न नपरोस् भन्ने रहेको छ। यसले जाँच प्रक्रिया सहज बनाउने अपेक्षा गरिएको छ।
परीक्षण अन्तर्गत महिलाको स्तनको क्लिनिकल जाँच गरिनेछ। यदि शंका लागेमा अल्ट्रासाउन्ड तथा आवश्यक परेमा मेमोग्राफी समेत गरिनेछ। त्यस्तै, ३० देखि ६० वर्ष उमेर समूहका महिलाहरूको एचपिभी डीएनए पिसिआर परीक्षण गरिनेछ। यदि रिपोर्ट पोजेटिभ आएमा कल्पोस्कोपी तथा बायोप्सी परीक्षण गरिनेछ।