

विराटनगर- विराटनगरको गोल्डेन अस्पतालले उपचारको क्रममा मृत्यु भएका ३० वर्षीय सञ्जय कामतको शव बन्धक राखेर मृतकका परिवारसँग पैसा तिर्ने दबाब दिएको आरोप लागेको छ । कामतको मृत्युपछि अस्पतालले मृतकका परिवारलाई ७ लाख रुपैयाँ तिर्न दबाब दिएको र तिनीहरूले रकम जुटाउन नसकेपछि शव हस्तान्तरण नगर्ने निर्णय गरेको हो ।
कामत फागुन २८ गते राति मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका थिए र उपचारका क्रममा बिहीबार राति मृत्यु भएको थियो । दुर्घटनामा सञ्जय कामतलाई मादक पदार्थ सेवन गरेर मोटरसाइकल चलाएका राजेश चौधरीले ठक्कर दिएका थिए । उपचारको क्रममा आठ दिनपछि कामतको मृत्यु भएको अस्पतालले जनाएको छ ।
अस्पतालले मृतक परिवारलाई उपचार खर्चका रूपमा ७ लाख रुपैयाँ तिर्न दबाब दिएको र आर्थिक रूपमा कमजोर भएका परिवारले उक्त रकम जुटाउन नसकेपछि शव हस्तान्तरण नगरी कागजातमा हस्ताक्षर गर्न लगाएको परिवारको आरोप छ । मृतकका भाइ अजय कुमार कामतले यसलाई अमानवीय र असंवेदनशील व्यवहार भनेका छन् ।
स्थानीय जनप्रतिनिधिहरूको हस्तक्षेपपछि मात्र शव हस्तान्तरण गरिएको थियो । विराटनगर-१२ का वडाध्यक्ष हिरालाल कामत र विराटनगर-६ का वडाध्यक्ष अक्षय सहनीको प्रयासपछि अस्पतालले शव दिने सहमति गरेको जानकारी प्राप्त भएको छ ।
यस घटनामा अस्पतालको अमानवीय कार्यप्रणालीको आलोचना हुँदै, अस्पतालका प्रतिनिधि मोहम्मद ज्याहुल हकले यस विषयमा प्रतिक्रिया दिन अस्वीकार गरेका छन् ।