

पोखरा- विश्व मुख स्वास्थ्य दिवसको अवसरमा कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेस तथा कान्तिपुर दन्त अस्पताल पोखराद्वारा मुख स्वास्थ्यसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ ।
‘अ ह्याप्पी माउथ इज अ ह्याप्पी माइन्ड’ भन्ने मूल नारालाई आत्मसात् गर्दै संस्थाले जनचेतनामूलक र्यालीको आयोजना गरेको हो। उक्त र्याली पोखरा महानगरपालिका वडा नं. ८ स्थित न्युरोडबाट सुरु भई सभागृह, पृथ्वीचोक, महेन्द्रपुल, चिप्लेढुंगा हुँदै पुनः संस्थाको प्रांगणमा सम्पन्न भएको थियो ।
कार्यक्रममा कान्तिपुर इन्ष्टिच्यूट अफ हेल्थ साइन्सेसमा अध्ययनरत विद्यार्थीहरुले मुख स्वास्थ्यको महत्वबारे नारा लगाउँदै समाजमा जनचेतना फैलाएका थिए। मुख तथा दन्त स्वास्थ्यको महत्व दर्शाउँदै समाजका सबै व्यक्तिलाई लक्षित गर्दै संस्थाले यो कार्यक्रमको आयोजना गरेको हो ।
कान्तिपुर दन्त अस्पतालले माघ २५ गते आफ्नो रजत जयन्ती पनि मनाएको थियाे । वार्षिकोत्सवको अवसरमा माघ महिनाभरि साधारण उपचारमा ३० प्रतिशत, विशेषज्ञद्वारा गरिने उपचारमा २० प्रतिशत तथा रेडियोलोजीको डिजिटल इमेजिङ, कोन बीम कम्प्युटेड टोमोग्राफी, अर्थोपान्टोमोग्राम जस्ता सबै प्रकारका एक्स-रे सेवामा १० प्रतिशत छुटको व्यवस्था गरिएको थियो । साथै, दन्त परीक्षण तथा परामर्श निःशुल्क प्रदान गरिएको थियो ।
मुख स्वास्थ्यको महत्वलाई उजागर गर्ने उद्देश्यले आयोजना गरिएको यो कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजक संस्थाले जनाएको छ ।