सल्यान – सल्यान जिल्ला अस्पतालमा कार्यरत १७ जना करारका स्वास्थ्यकर्मी पाँच महिनादेखि तलब नपाउँदा अस्पतालको सेवा प्रभावित भएको छ । आवश्यक बजेट नआउँदा नर्स, ल्याब टेक्निसियन, फार्मेसी सहायक, एक्सरे टेक्निसियन, कार्यालय सहायक, र वार्ड सहायकहरू आर्थिक संकटमा परेका छन् ।
तलब नपाउँदा कर्मचारीहरूले सरसापटी लिएर गुजारा चलाइरहेका छन् । “घर खर्च चलाउन गाह्रो भयो। पटक–पटक तलब माग्दा पनि सुनुवाइ हुँदैन। काम गर्ने मन पनि मरिसक्यो,” अस्पतालमा कार्यरत अहेव जेनिसा बस्नेत भन्छिन् ।
ल्याब असिस्टेन्ट अन्जना रानाका अनुसार प्रदेश सरकारको ढिलाइले समस्या जटिल बन्दै गएको छ। “नौ वर्षदेखि काम गर्दै आएँ, यस्तो अवस्था कहिल्यै थिएन ।”
स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. अर्जुन बुढाका अनुसार कर्मचारीको तलबबारे पटक–पटक पत्राचार गरे पनि प्रदेश सरकारले कुनै पहल गरेको छैन । “जनशक्ति अभावकै कारण सेवा प्रभावित भएको छ। भएका कर्मचारीले पनि तलब नपाएर काम छोडे भने अस्पताल नै बन्द गर्नुपर्ने अवस्था आउँछ ।”
प्रदेश सरकारका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले कर्मचारी सङ्ख्या धेरै भएको तर बजेट अपुग भएकाले तलब दिन नसकिएको स्वीकारेका छन् । “संघबाट बजेट आउँथ्यो, तर अहिले कटौती भयो। बजेट थप भए मात्रै निरन्तरता दिन सकिन्छ, नभए हटाउनुको विकल्प छैन ।”
५० शय्यामा विस्तार गरिएको सल्यान जिल्ला अस्पतालमा आवश्यक चिकित्सकको अभाव छ । पाँच जना विशेषज्ञ चिकित्सक र पाँच जना मेडिकल अधिकृत हुनुपर्ने भए पनि स्थायी रूपमा केवल दुई जना मात्र कार्यरत छन्। छात्रवृत्ति करार र अन्य करार कार्यक्रममार्फत आठ जना मेडिकल अधिकृत राखिएका छन्, तर उनीहरू पनि कार्यक्रम सकिएपछि फर्किनेछन् ।
यसैबीच, १८ करोडको लागतमा निर्माणाधीन दुई वटा भवन ११ महिनादेखि अलपत्र छन् । निर्माण कम्पनीको ढिलाइका कारण ६० प्रतिशत मात्र काम सम्पन्न भएको छ, जसले विशेषज्ञ सेवा विस्तारमा थप अवरोध सिर्जना गरेको छ ।