
काठमाडाैं- नेपालमा नागरिकको स्वास्थ्य सुधारका लागि सरकारले प्रोटिन सुरक्षालाई कानुनी रूपमा व्यवस्थित गर्न पहल गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मानव स्वास्थ्यका लागि आवश्यक प्रोटिनको सुनिश्चितताका लागि कानुन निर्माण गर्ने प्रतिबद्धता जनाएका छन् ।
विश्व प्रोटिन दिवसका अवसरमा बिहीबार ललितपुरमा आयोजित कार्यक्रममा मन्त्री पौडेलले प्रोटिन सुरक्षालाई राष्ट्रिय स्वास्थ्य नीतिमा समेट्नुपर्ने बताए । नेपाल फिड इन्डस्ट्रिज एसोसिएसन, नेपाल ह्याचरी एसोसिएसन, नेपाल लेयर्स पोल्ट्री फार्मर्स एसोसिएसन, पशुपन्छी औषधी व्यवसायी संघ नेपाल तथा युसेकको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा उनले सरोकारवालाहरूसँग छलफल गरी नीति निर्माण अघि बढाउने उल्लेख गरे ।
उनले स्वास्थ्य विमालाई अनिवार्य बनाउनुपर्ने भन्दै यसले सबै नागरिकको स्वास्थ्य सेवामा पहुँच पुर्याउने विश्वास व्यक्त गरे। साथै, उपचारभन्दा निरोधात्मक उपायलाई जोड दिनुपर्ने बताउँदै स्वस्थ जीवनशैली कायम गर्न पोषणयुक्त आहार अनिवार्य रहेको औंल्याए ।
पशु सेवा विभागका महानिर्देशक डा. उमेश दाहालले नेपालमा पशुजन्य उत्पादनहरू स्वास्थ्यका दृष्टिले सुरक्षित रहेको बताए। नेपाल दाना उद्योग संघका अध्यक्ष रविन पुरीले खाद्य सुरक्षाका लागि उत्पादनदेखि उपभोगसम्म सुरक्षित खाद्यान्न नीति आवश्यक रहेकोमा जोड दि ए।
नेपालमा पोषण सुधारको पहल भइरहेका बेला स्वास्थ्य मन्त्रालयको यो प्रतिबद्धता प्रोटिन सुरक्षाका लागि महत्वपूर्ण कदम हुने अपेक्षा गरिएको छ ।