
काठमाडौं- चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले सेवा विस्तारलाई तीव्रता दिँदै विभिन्न सुधारात्मक कदम चालेको छ। अपरेशन सेवा, एमआरआई परीक्षण, ल्याब क्षमता वृद्धि र सरसफाइ सुधारमा विशेष ध्यान दिइएको अस्पतालका निमित्त निर्देशक डा. समाज गौतमले बताएका छन्।
अस्पतालमा हालसम्म एक सिफ्टमा मात्र सञ्चालन हुँदै आएको अपरेशन सेवा अब दैनिक दुई सिफ्टमा सञ्चालन गरिने भएको छ । “हामीले एक साताभित्रै दुई सिफ्टमा अपरेशन गर्ने तयारी पूरा गरिसकेका छौं,” डा. गौतमले जानकारी दिए । यसले बिरामीलाई चाँडो सेवा उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ छ ।
वीर अस्पतालले एमआरआई सेवामा पनि सुधार ल्याएको छ । हाल दैनिक २५ जना बिरामीले मात्र सेवा पाउँदै आए पनि अब दैनिक ३२ जनासम्म एमआरआई गर्न सकिने छ । “पहिलेभन्दा महिनामा करिब दुई सय जनाले बढी सेवा लिन सक्नेछन्,” डा. गौतमले भने ।
प्रयोगशालाको क्षमता वृद्धिका लागि पनि अस्पतालले आवश्यक उपकरण थपेको छ । “अब बिरामीलाई बाहिरबाट परीक्षण गर्न जानुपर्ने झन्झट हटाउने योजनामा छौं,” उनले बताए । अस्पतालले बाहिर गइरहेका परीक्षणहरूको अध्ययन गरी आवश्यक जनशक्ति र उपकरणको व्यवस्थापन गर्ने योजना अघि सारेको छ ।
वीर अस्पतालमाथि सरसफाइको कमजोरीबारे पटक-पटक आलोचना हुँदै आएको छ । बिरामी तथा कुरुवाहरूबाट शौचालय र अन्य क्षेत्र फोहोर भएको गुनासो आइरहेको भन्दै अस्पताल प्रशासनले सुधारका लागि विशेष कदम चालेको छ । “हामीले सरसफाइ अनुगमन तथा सुधारका लागि विशेष टोली खटाएका छौं, जसको प्रभाव चाँडै देखिनेछ,” डा. गौतमले आश्वासन दिए ।
एक साताअघि मात्रै वीर अस्पतालको निमित्त निर्देशकको जिम्मेवारी सम्हालेका डा. गौतमले सेवा सुधारको पहललाई प्राथमिकता दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले समेत वीर अस्पतालमा सुधार देखिने गरी काम गर्न निर्देशन दिएका थिए। “हाम्रो प्रयास यही अनुरूप अगाडि बढिरहेको छ,” डा. गौतमले बताए ।
वीर अस्पतालको यो नयाँ व्यवस्थापनले बिरामीहरूलाई सहज सेवा दिने विश्वास गरिएको छ ।