बैतडी – जिल्ला अस्पताल बैतडीमा स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डाक्टर हाजिर भएका छन् । स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा। रामकुमार यादव र मेडिकल अधिकृत डा निश्चल ज्ञवाली मङ्गलबार बैतडी अस्पताल आएका हुन् ।
उनीहरूले मङ्गलबारदेखि नै जिम्मेवारी सम्हालेको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सुशील विकले बताए । स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा यादव प्रदेश सरकारको परामर्श सेवा र मेडिकल अधिकृत ज्ञवाली छात्रवृत्ति करारबाट बैतडी अस्पतालमा हाजिर भएका मेसु डाक्टर विकले बताए ।
अब जिल्ला अस्पताल बैतडीमा दुई विशेषज्ञ, एक डेन्टल र छ मेडिकल अधिकृत गरी जम्मा नौ जना डाक्टर कार्यरत रहेका छन् । डा यादवले कामकाज थालेसँगै बैतडी अस्पतालबाट स्त्री तथा प्रसूतिरोगसम्बन्धी जाँच र उपचार गर्न थालिएको छ ।
विशेषज्ञ डाक्टर अभावमा डडेलधुरा र धनगढी तथा भारतको पिथौरागढ जानुपर्ने बाध्यता रहेकोमा स्त्री रोग उपचार सेवा संचालनमा आएपछि बैतडीका बिरामीले जिल्लामै सहज सेवा पाउने अस्पताल व्यवस्थापन समिति अध्यक्ष पार्वती भट्टले बताए ।