

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद दीपक सिंहले देशको युवा जनशक्ति विदेशिने दर तीव्र रूपमा बढ्दै गएको बताएका छन् ।
सोमबार प्रतिनिधिसभामा बोल्दै उनले नेपालमा भविष्य नदेखेका कारण धेरै युवा विदेशिने निर्णय गर्न बाध्य भएको उल्लेख गरे । उदाहरणका रूपमा उनले टिचिङ अस्पतालका ४३ एमबीबीएस पास गरेका विद्यार्थीहरूमध्ये ४१ जनाले विदेश जानका लागि निवेदन दिएको खुलासा गरे ।
‘हालै नेपालकै उत्कृष्ट चिकित्सा संस्थामध्ये एक, टिचिङ अस्पतालबाट एमबीबीएस उत्तीर्ण गरेका ४३ मध्ये ४१ जनाले नेपालमा अवसर नदेखेपछि विदेशमा अभ्यास र थप अध्ययनका लागि आवेदन दिइसकेका छन्,’ उनले भने ।
सिंहले सरकार र सम्बन्धित मन्त्रालयको ध्यान यस समस्यातर्फ जानु आवश्यक रहेको बताउँदै, योग्य युवा जनशक्तिलाई स्वदेशमै रोक्न ठोस नीति आवश्यक रहेको जोड दिए ।