काठमाडौं- सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको भुक्तानी नदिएको भन्दै विभिन्न अस्पतालहरूले सेवा स्थगित गरेको विषय प्रतिनिधिसभामा उठान गरिएको छ ।
आइतबार प्रतिनिधिसभाको शून्य समयमा नेपाली कांग्रेसका सांसद जीवन परियारले सरकारले बिमाको रकम नदिँदा सर्वसाधारण नागरिकले ठूलो समस्या भोग्नुपरेको बताए ।
“सरकारले स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गतको भुक्तानी रोक्दा विभिन्न अस्पतालहरूले सेवा दिन छोडेका छन्। यसले सर्वसाधारणलाई ठूलो मर्का परेको छ,” सांसद परियारले भने, “यस विषयमा सरकारको गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु ।”
यसै सन्दर्भमा, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतका अस्पतालहरूले भुक्तानी नपाएको भन्दै स्वास्थ्य बिमा सेवा स्थगित गरेको आधिकारिक रूपमा सार्वजनिक गरिसकेका छन् ।