ढल्केबर – मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहको पछिल्लो अनुगमनले जनकपुरका निजी अस्पतालहरूको गम्भीर लापरवाही उजागर गरेको छ । शल्यक्रियाका लागि अनिवार्य एनेस्थेसिया विशेषज्ञको अनुपस्थितिमा नै जटिल अपरेशन हुने गरेको खुलासा भएको छ ।
मुख्यमन्त्री सिंहका अनुसार अनुगमनका क्रममा अस्पतालहरूमा दक्ष एनेस्थेसियोलोजिस्टको अभाव रहेको मात्र नभई सहायक स्वास्थ्यकर्मीहरूकै भरमा शल्यक्रिया गरिँदै आएको भेटिएको छ । उनले भने, “अस्पतालका शल्यक्रिया गर्ने डाक्टरहरूको नाम सूचीमा देखिए पनि उनीहरू शारीरिक रूपमा उपस्थित थिएनन्। बरु, सहायकलाई अपरेशनको जिम्मा दिइएको पाइयो ।”
स्वास्थ्य मापदण्ड विपरीत सञ्चालनमा रहेका अस्पतालहरूले बिरामीको ज्यान जोखिममा पारिरहेको जनाउँदै मुख्यमन्त्री सिंहले कडा कारबाही गर्ने चेतावनी दिएका छन् । उनका अनुसार, मधेश प्रदेशका अधिकांश अस्पतालमा मात्र छ जना एनेस्थेसिया विशेषज्ञ कार्यरत छन्, जसमा चार जना मात्र प्रादेशिक अस्पतालमा छन् ।
स्वास्थ्य व्यवसाय परिषद्का नियमअनुसार केवल एमडी चिकित्सकले मात्र एनेस्थेसिया दिन पाउने प्रावधान छ । तर, जनकपुरका कतिपय ठूला अस्पतालहरूले समेत यो नियम तोडेर सहायकमार्फत शल्यक्रिया गराउने गरेको आरोप लागेको छ ।
यसैबीच, मुख्यमन्त्री सिंहको निर्देशनमा अनुगमनपछि १६ वटा अस्पताल अवैध रूपमा सञ्चालनमा रहेको पुष्टि भई बन्द गरिएका छन् । हालसम्म जनकपुरका ८० मध्ये ४० वटा अस्पतालको निरीक्षण गरिएको छ, जसमा करिब आधा अस्पताल मापदण्डविपरीत रहेको पाइएको छ ।
स्वास्थ्य क्षेत्रमा देखिएको यो लापरवाहीले बिरामीहरूको ज्यान खेलबाडको विषय बनेको देखिन्छ । मुख्यमन्त्री सिंहले नियम विपरीत चल्ने अस्पतालहरूमाथि अझ कडा निगरानी राखिने बताएका छन् ।