काठमाडौँ- ग्रामीण भेगका जेष्ठ नागरिकलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने लक्ष्यसहित बीएम फाउण्डेशनले स्याङ्जाकाे कालीगण्डकी गाउँपालिका–७ मिर्मीमा ३८ जना जेष्ठ नागरिकको निशुल्क मोतिविन्दु शल्यक्रिया सम्पन्न गरेको छ ।
गत कात्तिकमा फाउण्डेशनले गाउँपालिकासँग सहकार्य गरी बृहत आँखा शिविर आयोजना गर्दा मोतिविन्दु देखिएका बिरामीहरूलाई शल्यक्रिया आवश्यक रहेको पत्ता लागेको थियो । त्यसै अनुरूप, शुक्रबार हिमालय आँखा अस्पतालका स्वास्थ्यकर्मीहरूको सहयोगमा स्थानीय कालीगण्डकी अस्पतालमा शल्यक्रिया गरिएको हो ।

बीएम फाउण्डेशनका अध्यक्ष डा. बुद्धिमान श्रेष्ठका अनुसार, ‘शल्यक्रियापछि आज (शनिबार) बिरामीहरूको आँखाको पट्टी खोलिएको छ, र सबैको शल्यक्रिया सफल भएको छ ।’
यसअघि, ४ देखि १० कात्तिकसम्म सञ्चालन गरिएको सप्ताहव्यापी आँखा शिविरमा २ हजार ६२ जनाले निशुल्क आँखा परीक्षण गराएका थिए । उक्त शिविर मुक्तिनाथ विकास बैंक, ताइवान प्रिभेन्ट ब्लाइन्डनेस फाउन्डेशन, केडीसी जनरल अस्पताल र हिमालय आँखा अस्पतालको सहकार्यमा सम्पन्न भएको थियो ।
शिविरमा ११८ जना जेष्ठ नागरिकमा उमेरजनित मोतिविन्दु, १३६ जनामा प्रारम्भिक बृद्धावस्थाको मोतिविन्दु र ३९ जनामा पूर्ण बृद्धावस्थाको मोतिविन्दु देखिएको थियो । फाउण्डेशनका प्रतिनिधि सुदीक्षा लोहनीका अनुसार, ‘पूर्ण बृद्धावस्थाका बिरामीहरूको शल्यक्रिया गाउँमै सम्पन्न गरिएको छ, जसले ग्रामिण भेगका जेष्ठ नागरिकलाई सहज रूपमा उपचार सेवा प्राप्त गर्न सहयोग गरेको छ ।’
ग्रामीण क्षेत्रमा आधुनिक स्वास्थ्य सेवा पुर्याउने उद्देश्यले गरिएको यो अभियानले जेष्ठ नागरिकहरूको जीवनशैलीमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।