

नयाँ दिल्ली- भारतको गुजरात राज्यस्थित अहमदाबादको एक निजी विद्यालयमा ८ वर्षीया गार्गी राणपराको हृदयघातका कारण मृत्यु भएको छ । उनी बिहान करिब ८ बजे विद्यालय पुगेकी थिइन् । सिँढी चढ्दा उनलाई छाती दुखेको महसुस भयो। त्यसपछि उनी लबीको बेन्चमा बसिन् र केही सेकेन्डमै भुइँमा लडेकी थिइन्। विद्यालयका कर्मचारीले बालिकालाई अस्पताल पुर्याए, तर चिकित्सकले उनलाई मृत घोषणा गरे ।
यसअघि पनि भारतकै कर्नाटकको सेन्ट फ्रान्सिस स्कुलकी आठ वर्षीया बालिका तेजस्विनी शिक्षकलाई उत्तर पुस्तिका देखाउन उठ्दा बेहोस भएर ज्यान गुमाएकी थिइन् ।
उनी पर्खालको सहारा लिएर भुइँमा लडेकी थिइन् । विद्यालयका कर्मचारीले तत्कालै उनलाई अस्पताल भर्ना गरेका थिए, तर चिकित्सकले उनलाई मृत घोषणा गरे। उनको मृत्युको कारण पनि कार्डियक अरेस्ट नै भएको दैनिक भास्करले लेखेको छ ।
सामान्यतयाः हृदयघातको खतरा विशेष गरी वृद्ध उमेर समूह (६५ वर्षभन्दा माथि) र मध्यम उमेर समूह (४५ देखि ६५ वर्ष) मा बढी हुन्छ । तर पछिल्लो समय युवावस्थामा पनि हृदयघात हुने गरेको छ । यी दुई मृत्युको घटनाले पनि देखाउँछ कि कम उमेरका बालबालिकाहरूमा पनि यस्तो समस्या आउन सक्छ, जुन निकै दुर्लभ हो ।