

काठमाडाैं- मानिसलाई देखिने विभिन्न समस्यामध्ये एक समस्या माइग्रेन पनि हो । डाक्टर घनश्याम खरेलका अनुसार माइग्रेन एक प्रकारको टाउको दुखाइ हो । यसमा टाउको दुखेको कारणले बिरामीलाई अत्यन्तै गाह्रो हुन्छ । यसरी टाउको दुखेको अवस्थामा बिरामीले मर्न पाए हुन्थ्यो भन्ने सोच्ने अवस्था सिर्जना हुन सक्छ ।
उनी भन्छन्, ‘टाउको दुखाइ दुई प्रकारको हुन्छ । प्राइमरी हेडेक र सेकेन्डरी हेडेक । प्राइमरी हेडेकमा टाउको दुखाइको कारक तत्वहरू केहि देखिँदैन । भने सेकेन्डरी हेडेकमा केहि कारक तत्व देखिन्छ । माइग्रेन प्राइमरी हेडेकको एउटा पाटो पर्छ ।’
विश्वव्यापी तथ्यांकलाई हेर्ने हो भने करिब १५ प्रतिशत व्यक्तिलाई माइग्रेन भएको पुस्टि भएको उनले बताएका छन् । नेपालको अवस्था हेर्ने हो भने टाउको दुखेका बिरामीमध्ये ३५ प्रतिशत मानिस माइग्रेनबाट प्रभावित रहेको विभिन्न अनुसन्धानले बताएको छ ।
माइग्रेनको दुखाइ प्राइमरी हेडेक भएकोले यसमा खास कारक तत्व हुँदैन । माइग्रेनलाई वैज्ञानिकहरूले अध्ययन गर्दा कुनै चिजले माइग्रेन गराउने भनेर भेटिएको छैन । माइग्रेन वंशाणुगत रोग जस्तो देखिएको डाक्टर खरेल बताउँछन् । आफ्नो बुवाआमा वा अन्य कसैलाई टाउको दुख्ने समस्या छ भने उनीहरूको सन्तानलाई माइग्रेन हुनसक्ने सम्भावना बढी हुन्छ । एउटा पुस्तामा माईग्रेन छ भने अर्को पुस्तामा ७५ प्रतिशत माइग्रेन हुने सम्भवना रहेको उनी बताउँछन् ।
उनका अनुसार माइग्रेन वयस्क अवस्थादेखि लिएर मध्य उमेरसम्मका व्यक्तिलाई बढी हुने गरेको छ । लैंगिक हिसाबले हेर्ने हो भने पुरूषको तुलनामा महिलामा बढी हुने गरेको छ । माइग्रेनका ४ जना बिरामीमध्ये तिन जना महिला हुन्छन् । यसको कारक तत्व हर्मोन परिवर्तन हो भन्ने कुरा वैज्ञानिकको रहेको डाक्टर बताउँछन् ।
माइग्रेनको नेपाली अर्थ कपाली रहेको डाक्टर बताउँछन् । जुन टाउकोको आधा भागबाट दुख्न सुरु गर्छ । यसमा आधा भागबाट टाउको दुख्न सुरु गरेपछि पूरै टाउको दुख्न थाल्छ । कानको पछाडिको भाग वा गर्धनबाट दुख्न सुरु गर्छ । कसैकसैलाई भने एकैपटक पूरै टाउको दुख्ने हुन्छ ।
उनका अनुसार माइग्रेनमा टाउको दुख्नुभन्दा पहिला मतमत लाग्ने, बान्ता आउला जस्तो हुने, अरू बोल्दा झर्को लाग्ने, धेरै आवाज आउने ठाउँ र घाममा गाह्रो हुने लगायतका लक्षण देखिन्छन् । माइग्रेनको दुखाई चार घण्टादेखि ७२ घण्टासम्म हुने गर्छ ।
अमिलो फल, अमिलो मोही, तामा, गुन्द्रुक, सिसामा गालेको अचार, अजिना राखेको खानेकुरा, कालो चक्लेट, चिज, चिसोपानी, चिसो पेयपदार्थ, अल्कोहल जन्य पदार्थ सेवन नगर्नाले यसबाट बच्न सकिन्छ । त्यस्तै चर्को घाम, चर्को आवाज, चर्को गन्धबाट टाढा रहनाले पनि यसबाट बच्न सकिन्छ । धेरै समय खाली पेट नबस्ने, धेरै नसुत्ने, धेरै तातो वा चिसोबाट टाढा रहने गर्नुपर्छ ।
डाक्टरका अनुसार बिरामीलाई केही प्रश्न सोधेर बिरामीलाई फिट हुन्छ कि हुँदैन भनेर हेरिन्छ । त्यसको आधारमा परीक्षण गरेर उपचार प्रकृया अगाडी बढाइन्छ । कुनै–कुनै अवस्थामा सिटिस्क्यान वा एमआरआई पनि गर्ने अवस्था आउनसक्ने उनको भनाई रहेको छ ।
माइग्रेनमा एभोटिभ थेरापी र प्रिभेन्टिभ थेरापी गरि दुई प्रकारका उपचार पध्दति रहेको हुन्छन् । दुखेको बेला खाएर दुखाइलाई कम गराउने औषधि एभोटिक थेरापी भनिन्छ । टाउको नदुखेको अवस्थामा नै पछि टाउको दुखाई कम गर्न खाने औषधि प्रिभेन्टिभ थेरापी हो । जुन दैनिक रूपमा लामो समयसम्मा खानुपर्छ ।
माइग्रेनका बिरामीले कम्तीमा पनि ६ महिनादेखि एक बवर्षसम्म नियमित रूपमा औषधि खानुपर्छ । कसैकसैलाई त्यो भन्दा बढी खानुपर्ने हुन्छ । बिरामीलाई टाउको दुख्ने समस्या तीन महिनासम्म एक चोटी पनि भएन भने वा महिनामा तीन पटकसम्म मात्र टाउको दुखाई भयो भने डाक्टरको सल्लाह लिएर औषधि छोड्नुपर्ने हुन्छ ।
खानपानमा ध्यान दिने, डाक्टरको सल्लाह अनुसार औषधि सेवन गर्नाले माइग्रेनबाट बच्न सकिने डाक्टर घनश्याम खरेल बताउँछन् ।
उनका अनुसार टाउको दुखाइले धेरै अप्ठ्यारो परिस्थिति निम्त्याउँछ भने त्यो माइग्रेन हो । तर, सबै टाउको दुखाइ माइग्रेन होइन । धेरै गाह्रो हुनेगरी टाउको दुखेको छ भने वा टाउको दुखाइ सँगै ज्वरो आएको छ भने त्यो माइग्रेन हो । त्यस्तो अवस्थामा डाक्टरलाई देखाउनु राम्रो हुन्छ ।
माइग्रेनका बिरामीले टाउको दुखेको नियन्त्रण नहुँदासम्म औषधि खाइरहन डाक्टरले सुझाव दिएका छन् । टाउको दुख्न कम भएपछि आफैँ औषधि खान नछोडि डाक्टरको सल्लाह अनुसार औषधि खान छोड्नु पर्छ ।
टाउको दुखाइको औषधि डाक्टरको सल्लाहा अनुसार मात्र खान उनले अनुरोध गरेका छन् । टाउको दुखेको औषधि लामो समयसम्म आफ्नै तरिकाले खाएको अवस्थाम मृर्गौलालाई असर गर्ने उनले बताएका छन् ।