-डा. मिना प्रधान
महिलालाई विभिन्न शारीरिक समस्या हुने गर्दछन् । तीमध्ये प्रमुख समस्या पाठेघरको मुखमा घाउ हुनु हो । यो अधिकांश महिलामा देखिने गर्छ । यसले पाठेघरको क्यान्सर जस्तो जटिल समस्या पनि निम्त्याउन सक्छ ।
पाठेघरको मुखमा घाउ हुँदा महिलाको तल्लो पेट दुख्ने, सेतो पानी बग्ने, योनी चिलाउने, यौन सम्पर्कपछि दुख्ने वा पोल्ने समस्या हुन्छ । यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनुपर्ने हुन्छ ।
ब्याक्टेरियाको कारणले पाठेघरमा समस्या देखिएको हुन्छ । ब्याक्टेरियाले हाम्रो शरीरको रगत तथा मासुलाई पिपमा रूपान्तरण गर्छ । बिस्तारै यो फैलिदँदै जान्छ र यसले ठूलो रूप लिन्छ । यो फैलिँदै गएपछि पाठेघर, लिभर लगायत विभिन्न ठाउँमा क्यान्सरको समस्या निम्त्याउन सक्छ ।
धेरै व्यक्तिसँग शारीरिक सम्पर्क राख्नाले, पानी कम पिउनाले यो रोग लाग्छ । पर्याप्त प्रोटिन भएको खानेकुरा नखानाले, धेरै भोकै बस्नाले, पाठेघर सफा नगर्नाले, लामो समयसम्म एउटै पेन्टी लगाउनाले तथा लामो समयसम्म एउटै प्याड लगाउनाले पनि पाठेघरमा समस्या हुन सक्छ ।
पाठेघरको मुख सफा राख्ने, सकेसम्म धेरै व्यक्तिहरूसँग शारीरिक सम्पर्क नगर्ने, खानपानमा ध्यान दिने जस्ता कार्यले यसबाट बच्न सकिन्छ । बेलाबेला पेन्टी फेरिरहने, घाममा सुकाएर मात्र पेन्टी लगाउने, धेरै समय एउटै प्याड प्रयोग नगर्ने लगायतका सरसफाइमा ध्यान दिने गर्नाले पनि यसबाट बच्न सकिन्छ ।
पाठेघरको मुखमा घाउ निको पार्न औषधि सेवन र मलमको प्रयोग गर्न सकिन्छ । तर, मलम व औषधिले पूर्णरूपमा निको नहुन सक्छ ।
यस्तो अवस्थामा कतिपय महिलाहरू आफ्नो रोग लुकाएर बस्ने गरेका हुन्छन् । यसो गर्नाले समस्याले झन् ठूलो रूप लिने र कालान्तरमा पाठेघरको क्यान्सर समेत हुने जोखिम हुन्छ ।
हरेक महिलाले महिनावारी सुरु भएपछि वर्षको एकपटक पाठेघरको परीक्षण गराउनुपर्छ । पाठेघरको मुखमा घाउ भएको अवस्थामा थेरापी लगायतका विभिन्न उपचार गर्न सकिन्छ ।
(डा. प्रधान महिला तथा प्रसुति विशेषज्ञ हुन् ।)