

– डा. अखिलेस कुमार कस्यप
कलेजोमा बोसोको मात्रा बढेर उत्पन्न हुने रोगलाई फ्याटीलिभर भनिन्छ । सामान्यतया हाम्रो कलेजोमा पाँच प्रतिशत भन्दा बढी बोसो भयो भने फ्याटीलिभर हुन्छ ।
भिडियो एक्सरे गर्दा कलेजोमा बोसो जमेको आधारमा चिकित्सकहरूले ग्रेड छुट्याएको हुन्छ । तर, हाम्रो ध्यान त्यतातिर गएको हुँदैन । त्यसैले अहिले यो फ्याटीलिभर बढ्दो क्रममा रहेको छ ।
पहिले लिभर क्यान्सर वा लिभर सिरोसिस् जस्ता समस्या मध्यपान सेवन तथा हेपाटाइटिस् बी वा सी को कारणले हुन्छ भनिन्थ्यो । तर, अहिले विभिन्न अनुसन्धानले मध्यपान सेवन तथा हेपाटाइटिस् बी वा सी ले भन्दा बढी फ्याटीलिभरले कलेजो बिग्रिने समस्या उत्पन्न गराएको छ ।
यदि कसैमा फ्याटीलिभर छ भने तुरुन्त परीक्षण गर्नुपर्छ । रगतमा लिभर फङ्गसन परीक्षण गराउनु पर्छ । फाइबर स्क्यान वा लिभर स्क्यान परीक्षण गराउनु पर्ने हुन्छ । यसले हाम्रो कलेजोमा भएको बोसोको मात्रा देखाउने काम गर्छ । त्यसैको आधारमा वा यसलाई निगरानी गरेर उपचार प्रकृया अगाडी बढाउन सकिन्छ ।
विशेषगरी फ्याटीलिभर धेरै मोटो तथा तौल बढी भएको व्यक्तिलाई देखिने गरेको छ । मोटो व्यक्तिको कलेजोमा बोसो बढी हुन्छ । जसको कारणले कालान्तरमा सुगर, कोलस्टोल तथा प्रेसर लगायतका रोगहरू उत्पन्न हुन सक्छ । त्यसैले यसलाई साधारण मानेर छाड्न हुँदैन ।
यसबाट बच्न तथा यसको उपचार गर्न डाक्टरको भन्दा पनि व्यक्ति स्वयंको बढी भूमिका हुन्छ । हामीले नियमित शारीरिक व्यायम गर्ने गर्नुपर्छ । आफ्नो शरीरको तौललाई नियन्त्रण गर्नुपर्छ । सकेसम्म चिल्लो कम भएको खानेकुरा खानु खाने बानी गर्नुपर्छ । फ्याटीलिभरको ग्रेड धेरै भएका व्यक्तिले नपकाएको खानेकुरा बढी मात्रामा खाने गर्नुपर्छ । सकेसम्म सलाद बढी खाने गर्नुपर्छ । कोल ड्रिङ्स वा चिनी बढी भएको चक्लेट कम खानुपर्छ ।
खानपानमा ध्यान दिने र व्यायाम गर्नाले फ्याटीलिभरबाट आफैँ बच्न सकिन्छ । तर, फ्याटीलिभरबाट फाइब्रोसिस हुन थल्यो भने यसबाट जोगिन कठिन हुन्छ । त्यसैले समयमा नै आफ्नो दैनिकीमा ध्यान दिनु आवश्यक छ ।
(डा. कस्यप पेट तथा कलेजो रोग विशेषज्ञ हुन् ।)