

तनहुँ- तनहुँको सदरमुकामस्थित व्यास नगरपालिका डेंगु संक्रमणको ‘हट स्पट’ बन्दै गएको छ । पछिल्लो दुई हप्तामा नगरपालिका क्षेत्रभित्र डेंगु संक्रमण ह्वात्तै बढेको हाे ।
स्वास्थ्य कार्यालय तनहुँले सार्वजनिक गरेको पछिल्लो तथ्यांकमा व्यास नगरपालिकामा १ हजार ५ सय ७२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ । नगरपालिका क्षेत्रमा पछिल्लो हप्ता ६ सय ८४ जनामा डेंगी संक्रमण देखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।
गत असोज १५ मा नगरपालिकामा ८ सय ८८ जनामा डेंगी पुष्टि भएकामा कात्तिक ३ सम्म १ हजार ५ सय ७२ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।
जिल्लामा गत असार पहिलो सातादेखि हालसम्म ४ हजार ५ जनामा डेंगी संक्रमण पुष्टि भएको छ भने एक जना पुरुषको मृत्यु भएको छ । दैनिक एक सय बढीको संख्यामा संक्रमण फैलिँदा जनजीवन प्रभावित हुन पुगेको थियो ।


