

काठमाडौं- शारीरिक स्वास्थ्य जस्तै दाँतको स्वास्थ्य पनि महत्वपूर्ण छ । यसलाई शारीरिक स्वास्थ्यसँग पनि जोडेर हेरिन्छ । दाँतको अवस्था वा बनावटले हाम्रो व्यक्तित्व समेत झल्किन्छ । राम्रो दाँतले सुन्दर मुस्कान दिने मात्र होइन । त्यसैले जसरी शारीरिक स्वास्थ्यको हेरचाह गरिन्छ त्यसरी नै दाँतको हेरचाह गर्नु पनि आवश्यक छ ।
अझ बच्चाको दाँतको त झन बढी ख्याल गर्नुपर्छ । बच्चा हुँदा ने दाँत बिग्रियो भने यसले जीवनमा ठूलो असर पार्छ । बालबालिकाले आफ्ने दाँतको हेरचाह आफैँ गर्न सक्दैनन् ।
बाल दन्त शल्यचिकित्सक डाक्टर अन्सिका भण्डारीका अनुसार बाल बालिकाको दाँत दुधे दाँत कम्तिमा ६ महिनादेखि आउन सुरु भई तिन वर्षसम्म पूरा हुने गर्छ । उनीहरूको पक्का दाँत ६ वर्षदेखि आउन सुरु भइ १३ वर्षसम्म पूरा हुन्छ ।
अहिले बच्चाहरूमा देखिने समस्याहरु दाँतमा किरा लाग्ने, दाँत दुख्ने लगायतका समस्या देखा पर्छ । दुख्ने कारण फरक फरक भएपनि विशेषगरी बोतल फिडिङ गराउने बालबालिकामा यो समस्या देखिने गरेको छ ।
बालबालिकाहरूको दाँतको राम्रोसँग सफा नगर्दा यो समस्या देखापर्छ । विशेषगरी बोतल फिडिङ गर्ने बालबालिकाहरूको दाँत राम्रोसँग सफा गर्नुपर्छ । यदि बालबालिकाहरूले बोतल फिडिङ गरिरहेका छन् भने मलमलको कपडा वा गज लिएर सफा गर्न सकिन्छ । खाना खाइसकेपछि बालबालिकाको दाँत राम्ररी सफा गरिदिनुपर्छ ।
यसो गर्नाले बालबालिकाको दाँतमा समस्या आउन कम हुन्छ । यदि दाँतमा किरा लागेको अवस्थामा दाँत वा सिमेन्ट भर्नुपर्छ । दाँतको दुखाई नसासँगै छोएको वा दाँत किरा लागेर नसासम्म पुगेको छ भने पर्फेटटोमी वा जरादेखिको उपचार गर्नुपर्छ ।