काठमाडाैं- दसैंमा प्राय सबै नेपालीको घरमा मासु प्रसस्त हुन्छ । परापूर्वकालदेखि सिंगै खसी, राँगा, सुँगुर, बंगुर, बोका, भेडा, च्यांग्रा काट्ने र मासु सँगालेर खाने हाम्रो चलन छ । त्यो पनि अझ गाउँघरमा यो चलनचल्ती बढी छ। दसैंमा काटेको खसीबोकालाई धेरै दिनसम्म बिना फ्रिजमा राख्दा बिग्रने र विष सावित हुने डर हुन्छ। फ्रिजकोे चिस्यानमा राखेमा मात्र मासु सुरक्षित रहन्छ ।
कुनै पनि जन्तुको वध गरेपछि राम्ररी सफा गर्नु जरुरी हुन्छ । शरीरमा भएका रौंहरु राम्ररी सफा गरेर मात्रा भित्री भाग खोल्न सुरु गर्नुपर्छ र यसरी भित्री भाग खोल्दा पनि जानकार व्यक्तिले मात्र हाल हाल्नु राम्रो हुन्छ । भित्रको आन्द्राभुँडी नफुट्ने गरी सर्लक्क निकालेर छुट्टै भाँडामा सुरक्षित राखेर राम्ररी सफा गर्नुपर्छ । यदि अन्द्राभुँडी फुटेमा सम्पूर्ण मासु खराब हुन पनि सक्छ । भित्री भागलाई राम्ररी सफा गरेर बफ्याएर छुट्टै पकाउँदा राम्रो। अन्य मासुमा मिसाउँदा गन्हाउने र मासु छिटो बिग्रने डर हुन्छ ।
कस्तो मासु खाँदा रोग लाग्छ ?
– सडेगलेको मासु
– नपाकेको, काँचो तथा पोलेको कालो मासु
– मासु राखेको फ्रिज चलेन भने वा धेरै बेर फ्रिज बाहिर राखेको मासु खाएमा
– जनावर काट्ने बित्तिकै तत्काल पकाएर खाएमा
– बिरामी पशुपन्छीको मासु
– मासु पकाउने व्यक्ति नै स्वस्थ छैन भने
– मासु काट्ने हतियार, अचानो, स्थान सफा नभएमा
यसरी छान्नुस् स्वस्थ्य मासुः
– मासु हलुका गुलाबी, हरियो तथा प्याजी रङको भए त्यस्तो मासु खानु हुँदैन।
–अमिलो र बिग्रिएको जस्तो गन्ध आएको मासु खानु हुँदैन।
– मासु फ्रिजमा छोपेर राख्नुपर्छ र फ्रिज चालु अवस्थामा छ कि छैन याद गर्नुपर्छ।
– मासु समाउँदा वा काट्दा तन्केको जस्तो हुनु हुँदैन।
– तराजु, मासु काट्ने मानिस, लगाएको कपडा, हतियार, मासु काट्ने स्थान आदि सफा छ कि छैन, याद गर्ने।
कस्तो मासु नखाने ?
–फ्रिजमा धेरै समय राखेको मासु नखाने
–खुला ठाँउमा राखेको नखाने
–काँचो मासु नखाने
–मासु पोल्दा राम्रोसँग नपाक्ने र धुँवाबाट विषाक्तता बढ्ने सम्भावना हुनाले यस्तो मासु सकेसम्म नखाने
–धेरै मसला तथा चिल्लो भएको मासु नखाने
– बोसो तथा छालाको सकेसम्म प्रयोग नगर्ने
दसैंमा समयमा विशेष ध्यान दिनुपर्ने कुराः
– खसी किन्नुभन्दा पहिले स्वस्थ्य छ कि छैन भनेर जाँच्ने।
–मासु नै किनेर ल्याउने भए विश्वासिलो पसलबाट मात्र ल्याउने।
– मासु काट्ने र पकाउने ठाउँको सरसफाइमा विशेष ध्यान दिने।
– मासु खानेबित्तिकै दही, आइसक्रिम लगायत क्रिमका परिकार नखाने
–मासु खाँदा अधिकतम सागसब्जी, सलाद आदि पनि खाने
– धेरै मासु नखाने
– नियमित व्यायाम तथा कसरत गर्ने
– आफू स्वस्थ नभएको जस्तो महसुुस भएमा माछा–मासु नखाने