
वीरगञ्ज – पर्साको पोखरिया नगरपालिकामा रहेको पोखरिया अस्पतालको स्तरोन्नति गर्न माग गर्दै धर्ना कार्यक्रम सुरु भएको छ ।
अस्पताललाई प्रादेशिक अस्पताल बनाउन माग गर्दै राष्ट्रिय मुक्ति क्रान्ति नेपालले आइतबारदेखि धर्ना कार्यक्रम सुरु गरेको हो । अनिश्चितकालीन धर्ना कार्यक्रम आइतबारदेखि दैनिक दुई घण्टा सुरु गरिएको राष्ट्रिय मुक्ति क्रान्ति नेपाल पार्टीका केन्द्रीय सदस्य नेजामुद्दिन समानीले बताए ।
कार्यक्रमअन्तर्गत सोमबार पनि दिउँसो १ बजेदेखि ३ बजेसम्म अस्पताल परिसरमा धर्ना दिइएको उनले बताए ।
पोखरिया अस्पतालमा सहज उपचार सेवा तथा अस्पतालमा चिकित्सकदेखि ओषधिलगायतको व्यवस्थाको बारेमा विगत लामो समयदेखि माग गर्दै आएको भए पनि कुनै सुनुवाइ नभएपछि दबाबस्वरुप अस्पताल परिसरमै धर्ना दिइएको समानीले बताए ।
अस्पताल भवनको निर्माण, अस्पताललाई कर्मचारी भर्तिकेन्द्र हुनबाट रोक्नको लागि धर्ना सुरु गरिएको उनको भनाइ छ ।



