काठमाडौं- नेपाल क्यान्सर अस्पतालले पीआईसीसी/पीओआरटी लाइन केयर कार्यशाला गोष्ठी सम्पन्न गरेकाे छ । कार्यशालामा अस्पतालका चिकित्सक तथा नर्सिङ सुपरभाइजर तथा इन्चार्जहरुले प्रशिक्षण दिएका थिए । कार्यशालामा विभिन्न अस्पतालमा कार्यरत ५२ जना नर्सहरुको सहभागिता रहेको थियो । कार्यक्रममा पीआईसीसी/पीओआरटी केयर सम्बन्धी विषयगत तथा अभ्यासका कक्षाहरु सञ्चालन गरिएको थियो ।
सहभागीहरूलाई पीआईसीसी/पीओआरटी लगाउन हुने तथा नहुने अवस्था र फाइदा बेफाइदा, पीआईसीसी/पीओआरटी लगाउने विभिन्न नशाहरुको बारेमा ज्ञान प्रदान, लगाउने विधी, आउने विभिन्न समस्या र हल गर्ने उपायबारे ज्ञान र उचित हेरचार र सुरक्षित प्रयोगकारे ज्ञान दिइएकाे थियाे । क्यान्सरको विरामीको उपचारको पद्धतीमध्ये किमो थेरापी पनि एक हो । केमोथेरापीले बिरामीका नशालाई बिगार्न सक्ने भएकोले पीआईसीसीपीओआरटी भन्ने उपकरणकोमार्फत थेरापी दिन उत्कृष्ट मानिन्छ ।
यी उपकरणको उचित स्याहार तथा प्रयोग नर्सहरूको हातमा रहने भएकाले कार्यशाला आयोजना गरिएको अस्पतालकी नर्सिङ प्रमुख लहरमाया भासिकले बताइन् ।
कार्यशाला गोष्ठीको उद्घाटन कार्यक्रमकी प्रमुख अतिथी तथा नेपाल नर्सिङ काउन्सिलकी अध्यक्ष सरला केसीले गरेकी थिइन् । कार्यक्रममा विशिष्ट अतिथीका रुपमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखा प्रमुख हिराकुमारी निरौला, नर्सिङ काउन्सिलकी पूर्व अध्यक्ष तारा पोखरेल रहेकी थिइन् । कार्यक्रमको अध्यक्ष नेपाल क्यान्सर अस्पतालमा मेडिकल निर्देशक डा. विजेशराज घिमिरेले गरेका थिए ।