-डा अमित झा
मानिसमा घाँटी खसखसाउने, केही अड्केको जस्तो हुने, दुख्ने, आवाज परिवर्तन हुने जस्ता समस्या बढीरहेको छ ।
टन्सिल वा एलर्जीले गर्दा तथा भित्रको नसाको कारणले पनि यस्तो हुन्छ । यस्तो भएमा नाकबाट सानो पाइप छिराएर घाँटीमा के भएको छ भनि हेरेर पत्ता लगाइ औषधि प्रयोग गर्ने वा सर्जरी गर्ने भन्ने कुरा निश्चित गर्न सकिन्छ ।
बढी बोल्नुपर्ने व्यक्तिको आवाज आउने ठाउँमा स–साना गिर्खा हुन्छन्, । जसले समस्या निम्त्याउँछ । निरन्तर बोल्नुपर्ने व्यक्तिले समय-समयमा रोकिने र पानीले घाँटी भिजाउँदै बोल्नुपर्ने हुन्छ ।

घाँटीको एलर्जी समान्य कुरा भएता पनि सबै घाँटीको खसखस गर्ने कारण एलर्जी नहुन पनि सक्छ । कहिलेकाहीँ नाकको अगाडिबाट हुने श्वास पछाडीबाट भई त्यसले घाँटीमा असर गर्छ । लामो समयसम्म घाँटीको समस्या समस्या भइरहेको अवस्थामा क्यान्सर हुने सम्भावना बढी हुन्छ ।
अहिले गर्मीको समयमा धेरै व्यक्ति स्विमिङ गएर आएपछि बढी कान पाक्ने लगायत अन्य विभिन्न प्रकारका कानका समस्या देखिएको छ । कानमा विभिन्न किसिमका समस्या भएका व्यक्तिले स्विमिङ गर्दा वा नुहाउँदा कानमा पानी पसेर समस्या थपिने सम्भावना हुन्छ ।
त्यस्ता व्यक्तिले सकेसम्म स्विमिङ नगर्ने गर्नैपरे वा नुहाउनु परेमा कानमा लागाउने इयर प्लगको प्रयोग गर्नुपर्छ ।

अहिलेको समयमा इरफोन तथा इयरपडको प्रयोग बढ्दै गइरहेको छ । विभिन्न पेसाको हिसाबले वा शोखका लागि पनि यसको प्रयोग हुने गरेको छ । यसले कानमा असर गर्ने हुँदा सकेसम्म यसको प्रयोग कम गर्नुपर्छ । ठुलो आवाजमा नसुन्ने, एकै पटकमा लामो समयसम्म नसुन्ने गर्नाले यसको असरबाट बच्न सकिन्छ । इयरफोन र इयरपोडको सट्टामा हेड फोनको प्रयोग गर्न सकिन्छ ।
कानको समस्या बच्चामा अली बढी हुने गर्छ । यसको कारण भनेको नाक र कान जोड्ने एउटा नली हुन्छ । जसलाई स्ट्याचेण्ड ट्युब भनिन्छ । बच्चा ६ वर्षको उमेर हुँदासम्म उनीहरुमा स्वासनलीको माथिल्लो भागमा संक्रमण हुने सम्भावना बढी हुन्छ । यो संक्रमणले स्ट्याचेण्ड ट्युबको माध्यमबाट कानमा पुगेर समस्या निम्त्याउन सक्छ ।
यो मौसममा कानमा ढुसी पलाउने समस्या पनि उत्तिकै देखिने गरेको छ । ढुसी एक किसिमको फंगस हो, जसले गर्दा कान चिलाउने, कान डम्म भएको महसुस हुने तथा कान नसुन्ने समस्या हुन्छ । यस्तो अवस्थामा कानको परीक्षण गरी डाक्टरको सल्लाह अनुसार औषधिको प्रयोग गर्नुपर्ने हुन्छ ।
मौसम परिवर्तन हुने समयमा घाँटी खसखस हुने समस्या बढी हुन्छ । यसको लागि हामीले रोग प्रतिरोधात्मक क्षमता बढाउनको लागि सागपात, फलफूल पर्याप्त मात्रामा खाने गर्नुपर्छ । धूलोबाट बच्नको लागि मास्कको प्रयोग गर्ने, चिसोबाट बच्ने, तातो पानीको बाफ लिने लगायतका कार्य गर्न सकिन्छ । समस्या बढ्दै गएमा डाक्टरको सल्लाह अनुसार औषधि खानुपर्छ ।
पिनास नेपालीको सामान्य समस्या हो । यो नाकको इन्फेक्शन भएर हुने समस्या हो । सामान्य अवस्थाको पिनास औषधिले ठिक हुन्छ । नाकको बीचको हड्डि बाङ्गो भएर, नाकमा मासु पलाएर पनि पिनास हुन सक्छ । यस्तो बेलामा औषधि खाएर हुँदैन नाकको शल्यक्रिया पनि गर्नुपर्ने हुन्छ ।
अहिले धेरैजसोले नाक, कान घाँटीको समस्यालाई सामान्य रूपमा लिने र कुनै परिक्षण नगरिकन औषधि सेवन गर्ने गरेका छन् । नाक, कान, घाँटीको समस्या जटिल पनि हुन सक्छ । नाक, कान, घाँटीमा कुनै समस्या आएमा परीक्षण गरेर डाक्टरको सल्लाह अनुसार मात्र औषधि सेवन गर्नुपर्छ ।
(डा. झा नाक, कान, घाँटी विशेषज्ञ हुन् ।)







