

हामीले प्रतिदिन नुन खाइरहेका हुन्छौं । हाम्रो भान्सामा खानाको स्वाद बढाउनको लागि नुनको प्रयोग गरिन्छ । धेरै नुन खानु स्वास्थ्यका लागि हानिकारक हुन्छ । सकेसम्म नुन कम खाने बानि गर्नुपर्छ । नुन कम खानुपर्छ भन्ने बित्तिकै हाम्रो बानी के हुन्छ भने खानेकुरामा पानी थप्ने अनि सबै खाने कुरा खाने गर्छौं । यसो गर्दा नुनको मात्रा घट्ने होइन । हामीले खाने खानाको मात्रा बढेर हाम्रो जिब्रोलाई नुन कम भएको महसुस भएको मात्र हो ।
४० प्रतिशत सोडियम र ६० प्रतिशत क्लोराइड मिलेर नुन बनेको हुन्छ, जुन हाम्रो शरीरको लागि अत्यावश्यक छ ।
हामीले प्राय १०-१२ ग्राम नुन प्रतिदिन खाने गर्छौं । डब्लुएचओले सार्वजनिक गरेक तथ्याङ्क अनुसार हामीले खाएको नुनको ३० प्रतिशत मात्रै हाम्रो शरीरमा प्रयोग भएको हुन्छ । सामान्य व्यक्तिले एक दिनमा ५ ग्राम भन्दा बढि नुन खानु स्वास्थ्यको लागि हानिकारक मानिन्छ ।
हामीले उपभोग गर्ने बाहिरी खानेकुराहरू मध्ये लामो समयसम्म स्टोर गरिएको खानेकुरामा हिडेन नुनको मात्रा हुन्छ किन भने नुन राखेको खानेकुरा लामो समयसम्म रहने भन्ने हुन्छ । हामीले खाने जंकफुड दालमोठ, बट्टामा राखिएको अचार इत्यादि खानेकुरामा नुनको मात्रा बढि हुन्छ । हामीले खाने ससमा पनि हाम्रो शरीरलाई हानी गर्ने खालको नुन मिसाइएको हुन्छ जुन हाम्रो जिब्रोलाई थाहा हुँदैन । डिप फ्रिजमा राखिएका खानेकुरामा पनि अतिरिक्त नुन हुन्छ ।
नेपालमा विभिन्न किसिमका नसर्ने रोगको प्रमुख कारण मध्ये नुनको बढी प्रयोग पनि हो । नुनको बढि सेवन गर्दा मानिसलाई सामान्यतया उच्चरक्तचाप, थाइराइड, बाथ, मुटुरोग लगायत रोगको जोखिम बढ्ने गर्दछ । उच्च रक्तचाप भएका मानिसलाई चिकित्सकले नुनको सेवन कम गर्नका लागि सुझाव दिने गर्दछन । साथै नुनको बढि प्रयोगले अन्यखालका दीर्घरोगहरुको जोखिम पनि बढाउने गर्दछ ।
नुन र चिनीको मात्रालाई घटाउने बित्तिकैपनि विभिन्न जीवनशैली र खानपानजन्य रोगबाट बच्न सकिने चिकित्सकहरु बताउँछन् । चिकित्सकहरुले पछिल्लो समय दिनमा एकपटकमात्र नुन राखेको खानेकुरा खानका लागि पनि बिरामीहरुलाई सुझाव दिने गरेका छन् । नुनको कम सेवन गर्ने, जंकफूड (पत्रुखाना)को सेवन नगर्ने र दैनिक शारीरिक व्यायाम गर्नाले उच्च रक्तचाप, थाइराइडजस्ता रोगबाट जोगिन सकिन्छ ।