काठमाडौं- सामान्यतया टाउको दुख्दा वा कुनैपनि किसिमको दुखाई हुँदा हामीले ‘पेन किलर’ खाने गरेका छौं । शरीरका विभिन्न भागको दुखाई कम गर्न हामी विभिन्न किसिमका पेन किलर खाने गर्छौं । विभिन्न किसिमका पेन किलर कम मुल्यमै जुनसुकै औषधि पसलमा सहजै पाइन्छ ।

यसले क्षणिक रुपमा निको बनाएता पनि दीर्घकालिन असर सिर्जना गर्छ । लामो समयसम्म पेन किलर खाँदा यसले हाम्रो मृगौला तथा कलेजोमा हानि पुर्याउँछ । विशेषगरि लामो समसम्म पेन किलर प्रयोग गर्ने तथा पानी नपिउने व्यक्तिमा यस्तो असर देखिन थाल्छ ।
पेन किलर औषधिको लत लागेका मानिसहरुमा कब्जियतको समस्या पनि धेरै देखिने गर्छ ।
यस्तै पेटमा दुखाई, चक्कर आउने, डायरिया र वान्ता पेनकिलर लिने मानिसहरुमा धेरै देखिने समस्या हो । यसको अतिरिक्त जीउ भारी महसुस हुने, टाउको दुख्ने र पेटमा दुख्ने समस्या नि देखिन सक्छ । थकान पनि यसको नियमित प्रयोगकर्तामा देखिने अर्को समस्या हो ।

धेरै महिलाहरुले महिनावारीको समयमा पनि दुखाईबाट बच्नको लागि पेन किलर लिने गर्छन् । यसले तत्कालको लागि राहत महसुस त हुन्छ तर यसको अधिक मात्रामा सेवन गर्नाले एसिडिटी, ग्यास्ट्राइटिस, पेटमा अल्सर आदीको समस्या हुन्छ ।
पेन किलर खाने व्यक्तिले बेला बेलामा मृगौला तथा कलेजोको जाँच गराउनुपर्छ । कहिलेकाँही खाएपनि लामो समयसम्म यसको प्रयोग गर्नुहुँदैन ।
हामीले प्रकृतिक वा भान्सा कोठामै पाइने कुरा प्रयोग गरेर पनि दुखाइ कम गर्न सक्छौं । भन्सा कोठामा पाइने अदुवाले पेट, टाउको र मांसपेशीहरू दुख्ने, घाँटी दुख्ने, इन्फेक्सन हुने जस्ता समस्याबाट बचाउँछ ।







