धनगढी : कैलालीको धनगढी उपमहानगरपालिकाले निःशुल्करुपमा रगत दिने भएको छ । उपमहानगरपालिकाले नगरक्षेत्रभित्र स्थायी रुपमा बसोबास गर्ने आफ्ना नागरिकलाई निःशुल्करुपमा रगत दिने भएको हो ।
धनगढीमा नेपाल रेडक्रस सोसाइटी कैलाली शाखाबाट सञ्चालित रक्त सञ्चार केन्द्रले रगत उपलब्ध गराउँदै आएको छ । रक्त सञ्चार केन्द्रले रगत परीक्षण सामग्री, भण्डारणलगायतको खर्च भनेर रगत उपलब्ध गराएवापत प्रतिपिन्ट रगतको एक हजार १५० रुपैयाँ लिने गरेको छ ।
नगरवासीले रक्त सञ्चार केन्द्रले रगत उपलब्ध गराएवापत तिर्नुपर्ने प्रतिपिन्ट रगतको एक हजार १५० रुपैयाँ चालु आर्थिक वर्षदेखि उपमहानगरपालिकाले नै तिरिदिने नेपाल रेडक्रस सोसाइटी कैलाली शाखासँग सम्झौता भएको धनगढी उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खातीले बताए ।
‘उपमहानगरवासीको उपचारका क्रममा आवश्यक पर्ने रगत र रगतजन्य पदार्थ सहज र निःशुल्करुपमा उपलब्धत गराउन उपमहानगरपालिकाले मंगलवार नेपाल रेडक्रस सोसाइटी कैलाली शाखासँग सम्झौता गरी नगरवासीलाई निःशुल्क रगत पाउने व्यवस्था गरिएको हो,’ प्रशासकीय अधिकृत खातीले भने, ‘सम्झौताअनुसार धनगढी उपमहानगरभित्र स्थायी बसोबास भएका बिरामीले चिकित्सकको सिफारिसमा रेडक्रसबाट निःशुल्क रगत पाउने छन् ।’
सम्झौताअनुसार धनगढी उपमहानगरपालिकाले विरामीलाई रगत उपलब्ध गराएवापत रेडक्रसलाई त्रैमासिक रुपमा रकम भुक्तानी गर्नेछ । बिरामीलाई रगत अभाव नहोस् भनेर धनगढी उपमहानगरपालिकाले नगरका विभिन्न स्थानमा रक्तदान शिविर समेत सञ्चालन गर्नेछ ।
ध्नगढीवासीलाई निःशुल्करुपमा रगत उपलब्ध गराउने सम्झौता पत्रमा धनगढी उपमहानगरपालिकाको तर्फबाट मेयर गोपाल हमाल, प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रबहादुर खाती र स्वास्थ्य शाखा प्रमुख योगेशकुमार अवस्थी तथा नेपाल रेडक्रस कैलाली शाखाको तर्फबाट शाखा सभापति बासुदेव बिनाडी, स्वास्थ्य सेवा समिति संयोजक खेमराज जोशी र रक्त सञ्चार केन्द्र प्रमुख धरणीप्रसाद पन्तले हस्ताक्षर गरेका छन् ।