
खोटाङ : खोटाङको रावा बेसी गाउँपालिकाले पाठेघरको समस्या भएका १० जना महिलालाई उपचारको लागि अस्पताल लगेको छ । आङ खस्ने समस्याबाट प्रताडित महिलालाई पहिचान गरेर गाउँपालिकाले शिर मेमरियल एडभेन्टिज अस्पताल बनेपा निःशुल्क उपचारको लागि गलेको हो ।
गत जेठ १७ गतेदेखि जेठ २३ गतेसम्म सञ्चालन गरिएको स्क्रीनिङका क्रममा पहिचान गरिएका आङ खसेका महिलालाई उपचारमा लगिएको गाउँपालिकाले जनाएको छ । आङ खसेका महिलालाई गाउँपालिकाले सुसो रिजर्भ गरेर लगिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज रेग्मीले बताए । सामुदायिक सेवा प्रतिष्ठानसँगको समन्वयमा उपचारमा लगिएको महिलाहरूको अप्रेसनसहितको निःशुल्क उपचार हुनेछ । आउनेजाने र खाने,बस्ने खर्च गाउँपालिकाले व्यवस्थापन गरेको अधिकृत रेग्मीले बताए ।
आङ खसेका महिलाको उपचारमा गाउँपालिका अध्यक्ष फटिककुमार श्रेष्ठ, उपाध्यक्ष कौशिलाकुमारी गुरुङ, स्वास्थ्य शाखा संयोजक कौशल अधिकारी, सिनियर अहेव प्रदीप पोखरेल, अहेव तेजेन्द्रप्रकाश रेग्मी लगायत कर्मचारीको टोली अस्पताल गएका छन् ।



